बसपार्कबासीको सुरक्षा स्थानीय सरकारले गर्नेछ : गोम्देन
अर्जुनधारा – अर्जुनधाराका नगर प्रमुख बलदेवसिंह गोम्देनले टेक बहादुर गिरी बसपार्कका नागरिकहरुलाई समाधान दिएरै छाड्ने बताएका छन् । उनले सर्वोच्चको फैसलापछि सो क्षेत्रका नागरिकहरु दुःखी भएको भन्दै सुरक्षा प्रदान गर्न आफु प्रतिवद्ध रहेको बताए । आज सभामुखको अगुवाईमा अर्जुनधारामा भएको छलफलमा नगर प्रमुख गोम्देनले यस्तो बताएका हुन् ।
नगर प्रमुख गौम्देनले बसपार्कबासीलाई कसैले विस्थापित गर्न नसक्ने भन्दै उनले नागरिकको सम्पत्तिको सुरक्षामा पूर्ण रुपमा सहयोग गर्ने बताएका हुन् । नागरिकको अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्ने काम भइरहेको बेला विस्थापित गर्न कसैले पनि नमिल्ने उनको तर्क थियो ।
विदेशमा कमाएको पैसा र पहाडमा भएको सारा सम्पत्ति बेचेर बसपार्कबासीले जग्गा खरिद गरेको जानकारी दिए । बसपार्कमा राज्यको ठुलो लगानी समेत भइसकेको छ, नगर प्रमुख गोम्देनले भने – नागरिकको स्थायित्वको लागि राज्यले लगानी गरेको हो । नागरिकलाई उठाउने कुरा सोच्न सकिन्न ।
बसपार्क क्षेत्रका नागरिकहरुलाई संरक्षण गर्ने बताएका उनले विस्थापित गर्न कसैले नसक्ने दावी गरे । यस क्षेत्रले सभामुख पाएका कारण बसपार्कबासीको जग्गा सुरक्षित हुनेमा आफु विश्वस्त रहेको बताएका छन् । उनले मालपोतका प्रमुखलाई तत्काल माथिल्लो तहबाट काम कारबाही अघि बढाउने गरि निर्णय गराउन आग्रह समेत गरेका छन् । स्थानीय सरकारले विगतमा दिएकै सुविधा दिएको हो, नयाँ केहि गरेका होइनौ । उनले भने – त्यसैले स्थानीय तहबाट गरिएका सिफारिसहरु रोक्ने काम हुनुहुदैन ।