Banner news

कोरोना महामारीः चीनलाई उछिन्दै नेपाल

कोरोना महामारीः चीनलाई उछिन्दै नेपाल


काठमाडौं । नेपालमा कोरोना संक्रमितहरुको संख्या  ८४,५७० पुगेको छ । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दैनिक प्रेस ब्रिफिङमा दिइएको जानकारी अनुसारपछिल्लो २४ घण्टामा देशभर २ हजार १ सय २० जना संक्रमित थपिएसँगै कुल संक्रमितहरुको संख्या ८४ हजार ५ सय ७० पुगेको हो ।

योसँगै नेपालको संक्रमित संख्या चीनको हाराहारी पुगेको छ । पछिल्ला दिन दैनिक रुपमा देखिँदै गएको संक्रमितहरुको दर आइतबार पनि कायम रहने सम्भावना छ । यसो हुँदा आइतबार नेपालले चीनलाई जित्ने देखिएको छ । चीनमा अहिले कुल संक्रमितको संख्या ८५ हजार ४ सय ३४ रहेको छ भने नेपालको शनिबारसम्मको कुल संख्या ८४ हजार ५ सय ७० पुगेको छ । नेपालमा सरदर दैनिक २ हजारभन्दा बढी संक्रमित देखिरहेकाले आइतबार नेपालले चीनलाई जित्ने निश्चित प्रायः छ ।

विश्वभर फैलिनुअघि चीनकै उहानबाट सुरु भएको कोरोना महामारी अहिले त्यहाँ कन्ट्रोल भैसकेको छ । शनिबार चीनमा निकै कम १० जना नयाँ संक्रमितहरु देखा परेका छन् । त्यहाँ ४ हजार ६ सय ३४ जनाको संक्रमणबाट मृत्यु भएको छ भने पछिल्ला महिना संक्रमणबाट मृत्यु भएको छैन । सुरुमा चीनमा देखिएको सो महामारी युरोप हुँदै पछिल्लो समयमा अमेरिका, भारत, ब्राजिल फैलिएको छ । नेपालमा पनि निकै तिब्र रुपमा संक्रमितहरुको संख्या बढिरहेको छ । नेपालमा शनिबार १२ हजार ९७८ जनामा पीसीआर परीक्षण हुँदा २१ सय २० जनामा संक्रमण पुष्टि भएको हो।  यस्तै काठमाडौंमा १००१, भक्तपुरमा ६७ र  ललितपुरमा १०९ गरी उपत्यकामा ११७७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्यमन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए । यस्तै देशभर सक्रिय संक्रमित २१ हजार ३०२ रहेका छन् भने संस्थागत आइसोलेशनमा ९ हजार ७७३ र होम आइसोलेशनमा ११ हजार ५२९ रहेका छन् ।  त्यस्तै २४ घण्टामा थप २०४४ जना निको भएसँगै हालसम्म निको हुनेको कुल संख्या ६२,७४० पुगेको गौतमले जानकारी दिए ।

शेयर गर्नुहोस :

0
Shares