झापा । झापाको शिवसताक्षीमा महिला फुटबल प्रतियोगिताको दोस्रो संस्करण आयोजना हुने भएको छ । मंसीर ५ देखि १२ गतेसम्म झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको दोस्रो संस्करण हुन लागेको हो । नवनिर्मित दुधे रंगशालास्थित शिवसताक्षीमा महिला गोल्डकप सञ्चालन गर्ने तयारी गरिएको छ । आज रंगशालामा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता तयारी बारे जानकारी दिइएको हो ।
झापालाई महिला फुटबलको हबको रुपमा विकसित गराउन आयोजक लागि परेको झापा महिला गोल्डकप समितिका अध्यक्ष सन्तोष थोप्रा लिम्बूले जानकारी दिए ।

झापा महिला गोल्डकपको विजेता टिमले सर्वाधिक राशी पुरस्कार नगद ११ लाख रुपैयाँ पाउनेछ भने उपविजेताले नगद ५ लाख ५० हजार नगदसहित ट्रफी र मेडल तथा प्रमाणपत्र पाउनेछन् । मस्ट भ्यालुएवल प्लेयरलाई एक लाख ५० हजार रुपैयाँ, प्रतियोगिताका उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्ताले नगद २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद १५ हजार रुपैयाँ र ट्रफी प्रदान गरिनेछ ।
प्रतियोगितामा नेपालका तीन विभागीय टिम त्रिभुवन आर्मी, नेपाल एपिएफ र नेपाल पुलिस क्लबका महिला टिमको सहभागिता टुंगो लागिसकेको छ । एक टिम भारत, एक टिम भुटान तथा बाँकी दुई टिम नेपालका ए डिभिजन क्लबले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।
महिला खेलाडीलाई प्रोत्सहान गर्दै झापामा महिला खेलाडी उत्पादनमा टेवा पुर्याउने र ग्रास रुटबाटै निरन्तर प्रशिक्षणका लागि पहल गर्ने आयोजकको उद्देश्य रहेको जानकारी गराइएको छ । त्यसका लागि दुधे रंगशालाको स्तरोन्नित धमाधम भइरहेको छ । बाँसको अस्थायी प्यारापिट निर्माण, खेलमैदानको स्तरोन्नति कात्तिक तेस्रो साता सक्नेगरी तीव्रस्तरमा काम भइरहेको छ ।
यो प्रतियोगिता सञ्चालनको लागि एक करोड २५ लाख रुपैयाँ लागत अनुमान गरिएको छ । यसैबीच, टिकट बिक्रीबापत प्रत्येक टिकटको १० रुपैयाँ आदिवासी नेत्रहीन संघ र अटिजम भएका बालबालिका अध्ययन गर्ने एक विद्यालयलाई प्रदान गरिने आयोजक समितिका अध्यक्ष सन्तोषले बताए । झापाबासीकै प्रतिष्ठासँग जोडिएको यस प्रतियोगितालाई सानदार ढंगले सफल बनाउन झापाली उद्योगी, व्यवसायी र खेलप्रेमी महानुभावहरु, पत्रकार, मिडिया हाउसहरुको भूमिका महत्वपूर्ण रहने भएकोले सम्पूर्ण उद्योगी व्यवसायीसँग सहयोगको लागि अपिल समेत गरिएको छ ।
प्रतियोगिताको संरक्षकमा नगरप्रमुख मेगाहाङ थोप्रासहित शिवसताक्षीका जनप्रतिनिधिहरु रहेका छन् भने प्रतियोगिता सञ्चालनको लागि खेलकुद पत्रकार हिमाल खरेलको नेतृत्वमा सचिवालय निर्माण गरिएको छ ।
पत्रकार सम्मेलनमा नगर प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि मेगाहाङ थोप्रा, शिवसताक्षी नगर उप–प्रमुख नरमाया कार्की, झापा ११ फुटवल क्लवका अध्यक्ष जलकुमार गुरुङलगायतले प्रतियोगिता तयारी बारे आ–आफ्नो सुझावसहित शुभकामना मन्तव्य राखेका थिए ।








प्रतिक्रिया