Banner news

बंगलादेशसँग नेपाल पराजित

बंगलादेशसँग नेपाल पराजित


काठमाडौं । अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ । बंगलादेशको ढाकामा शुक्रबार भएको पहिलो मैत्रीपूर्णमा नेपाल बंगलादेशसँग २-० गोल अन्तरले पराजित भएको हो ।

तस्वीर : एन्फा

बंगबन्धु रंगशालामा भएको खेलमा बंगलादेशलाई जित दिलाउन मोहमद नाबिब नवज जीवन र मबुबुर रहमानले एक एक गोल गरे ।

पहिलो हाफको १० औं मिनेटमा मोहमद नाबिबले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । उनले साद उदीनको क्रसमा वान टचमा गोल गरेका थिए । त्यसपछि खेलको ८० औं मिनेटमा रहमानले गोल गर्दै बंगलादेशलाई २-० को जित दिलाए ।

बल पोजिसनमा पकड बनाएपनि नेपाल भने घरेलु टिमविरुद्ध गोल गर्न चुकेको थियो । तर, बंगलादेशविरुद्ध तीन खेलाडीले राष्ट्रिय टिममा डेब्यु गरेका थिए । राष्ट्रिय टिममा विकास खवास, एरिक बिष्ट र दर्शन गुरुङले डेब्यु गर्ने मौका पाए ।

यस जितसँगै बंगलादेशले नेपालसँग साफ च्याम्पियनसिपमा व्यहोरेको हारको बदला लिएको छ । ०७५ सालको भदौंमा ढाकामै भएको साफको समूह चरणमा नेपालले बंगलादेशलाई २-० ले हराएको थियो । फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेलेको हो ।

‘मुजिब वर्ष फिफा अन्तराष्ट्रिय फुटबल सिरिज’ अन्तर्गतको दोस्रो मैत्रीपूर्ण मंसिर २ गते हुनेछ । विश्वकप छनोटमा नेपाल समूह ‘बी’ मा रहेको छ भने बंगलादेश समूह ‘ई’ मा रहेको छ ।

शेयर गर्नुहोस :

0
Shares