मिति : २०७७-७-२८
बिर्तामोड नगरपालिका वडा नं. १ मा पर्ने जग्गाको सिफारिस सम्बन्धमा केही अन्योलता र भ्रम छरिन गएकोले यो प्रेस विज्ञप्ति मार्फत् आम जनमानसमा स्पष्ट पारिएको छ । केही सञ्चारमाध्यम र सामाजिक सञ्जालहरुमा वडा नं. १ स्थित सिने प्लाजा नजिकै रहेको ७ कठ्ठा जग्गाको विषयमा वडाले गरेको सिफारिसलाई लिएर केही व्यक्तिहरुले आरोप लगाएजस्तो अवस्था नरहेको र वडाले नापी शाखाको नाप नक्साको आधारमा सिफारिस गरेको सर्वप्रथम प्रस्ट पार्न चाहन्छु ।
सो कित्ताका निवेदकको मागदाबी, जग्गाको नक्सा र अरु आवश्यक प्रमाणका आधारमा नै सिफारिस गरिएको हो । र, यसरी जग्गा बिक्रीका लागि सिफारिस गर्दा आजसम्म कतै पनि फिल्डमा गएर हेर्ने प्रचलन थिएन र छैन पनि । यति कुरा बुझेर पनि यस सम्बन्धमा मलाई जोडेर अनर्गल प्रचारबाजी गराइएको र विशुद्ध राजनीतिक क्षेत्रमा रहेको मानिसलाई भूमाफियाजस्तो शब्द प्रयोग गरिएकोमा घोर आपत्ति प्रकट गर्दछु ।
वडाले हेर्ने प्रमाण भनेकै नापी शाखाबाट प्रमाणित उपलब्ध जग्गाको नक्सा आर्थिक वर्षको मालपोत तिरोतिरेका रसिद सम्बन्धित जग्गाधनीले दिएको निवेदन, नागरिकताको फोटोकपी र धनीपूर्जाको फोटोकपी हो । यद्यपि, त्यहाँको कित्ता नम्बर ५४७ लाई ६२२ बनाइएको बारेमा वडा कार्यालय जानकार हुने कुरा पनि होइन । बरु नापी कार्यालय झापाका कर्मचारीले ५४७ नम्बरको कित्तालाई ६२२ बनाएको देखिन्छ । यसरी नापी शाखाका कर्मचारीले नक्सामा कित्ता नम्बर परिवर्तन गरेको कुरा नापी कार्यालयले नै स्वीकार गरिसकेको आम वडाबासीहरुलाई जानकारी गराउँदछु ।
साथै, यस विषयलाई लिएर बिर्तामोड नगरपालिका प्रमुख ध्रुवकुमार शिवाकोटीज्यूले नगरपालिकाको तर्फबाट नापी शाखामा सो नक्साको कित्ता फेरबदल गर्ने कर्मचारीलाई कारबाही गर्न पत्र पठाइसक्नु भएको र पुराना प्रमाणित नक्सालाई सामेल गरी ५४७ कित्ता नम्बर कायम गर्न सिफारिस गरिएको छ । तसर्थ म पनि त्यस अपराधमा संलग्न कर्मचारीहरुमाथि सख्त कारबाहीको माग गर्दछु ।
अग्नीप्रसाद पाण्डे
अध्यक्ष







प्रतिक्रिया