Banner news

झापामा भाक्काको इतिहास खोज गर्ने तयारी

झापामा भाक्काको इतिहास खोज गर्ने तयारी


विर्तामोड । पुस अन्तिममा भाक्का दिवस मनाएको कोचिला गाभुर फ्रन्ट केन्द्रीय समितिले आवश्यक खोज अनुसन्धान गर्ने भएको छ । शनिवार समितिले पत्रकारसँग आयोजना गरेको अन्तरक्रियामा भाक्काको इतिहास खोज गर्ने यसको संस्थागत विकासमा लाग्ने बताइएको छ ।
अन्तरक्रिया गरेर झापाली पत्रकारसँग राय समेत लिइएको छ ।

राजवंशी समुदायको विशेष परिकारका रुपमा रहेको भाक्कालाई अब सबैका सामु विशेष परिकारको रुपमा स्थापित गर्ने राजवंशी समुदायका अगुवाहरुले बताएका छन् । अन्तरक्रियामा बोल्दै अग्रज पत्रकार मोहन काजीले भाक्का समग्र नेपाली समुदायको विशेष परिकार भइसकेको बताए । उनले अहिलेसम्म भाक्काको आवश्यक खोज अनुसन्धान नहँुनु दुःखद् भएको बताएका छन् । पत्रकार काजीले यसको इतिहास वर्षौ पुरानो भए पनि पछिल्लो समय राजवंशी समुदायका युवाले चासो दिन थालेकोमा खुशी व्यक्त गरेका छन् । उनले राजवंशी समुदायको परम्परा, भेषभुषा र विभिन्न परिकारको संरक्षण र संवद्र्धन हुनुपर्नेमा जोड दिएका छन् ।

यस्तै, अग्रज पत्रकार तीर्थ सिग्देलले परिकारको अलग्गै पहिचान हुने भन्दै भाक्काको व्यवसायिकरणमा राजवंशी समुदायलाई ध्यान दिन आग्रह गरेका छन् । सिग्देलले कुनै पनि परिकारले त्यहाँको माटो र भुगोल बोल्ने भन्दै अन्तरािष्ट्रय बजारमा पनि भाक्काको महत्व दर्शाउन आवश्यक रहेको बताए । उनले आफ्नो यात्राको अनुभव सुनाउँदै भाक्काको इतिहास खोज गर्न झापाली सञ्चारकर्मीको पनि सहयोग रहने बताएका छन् ।

अन्तरक्रियामा सहभागी पत्रकारले राजवंशी समुदायको भाक्का, भुजा, घुम्नी मुरी र पिठ्ठको उत्तिकै विशेषता र महत्व रहेको बताएका छन् । अधिकांशले भाक्काको खोज गर्न आग्रह गर्दै भुजाको उत्पादन वृद्धिमा जोड दिन आग्रह गरेका छन् । राजवंशी समुदायले भाक्का दिवस मनाउन थाले पनि समग्र समुदायले यसलाई उत्सवका रुपमा स्वीकार गरिसकेको पत्रकारहरुको धारणा थियो । उनीहरुले भाक्का दिवस मनाउने सन्दर्भमा राजवंशी समुदाय विभाजित हुन नहुने प्रतिक्रिया दिएका छन् ।

कोचिला ग्राभुर फ्रन्टका अध्यक्ष अभय राजवंशीले भाक्का लगायत परिकारको संस्थागत विकासका लागि सरोकारवालासँग अन्तरक्रिया थालनी गरेको जानकारी दिए । उनले पत्रकारबाटै सो अभियानको थालनी गरिएको बताएका छन् । पत्रकार एवम् भाक्का दिवस आयोजक समितिका संयोजक अर्जुन राजवंशीले सहजीकरण गरेको अन्तरक्रियामा पत्रकार सुब्रत न्यौपाने, लिला अनमोल, विशाल नेम्वाङ, गणेशमान मुखिया, रेजिना रोदन लगायतले धारणा राखेका थिए ।

शेयर गर्नुहोस :

0
Shares