Banner news

झापा लागुऔषधको ‘हट स्पट’ बन्दै

झापा लागुऔषधको ‘हट स्पट’ बन्दै

हरेक दिन समातिन्छन् बालकदेखि वृद्धसम्म


बिर्तामोड । झापा प्रहरीले दिनहुँ लागुऔषध बरामत गर्दै आएको छ । भारतसँग जोडिएको जिल्ला भएकाले यहाँ लागुऔषध आयात गर्नेहरु बढ्दै गइरहेका छन् । प्रहरीले सार्वजनिक गरेका विवरणले झापा लागुऔषध कारोवारको ‘हट स्पोट’ बनिरहेको देखाउछ ।

प्रहरीले प्रत्येक दिन सञ्चारमाध्यमा पठाउने घटना विवरणमा लागुऔषधको विवरण अनिर्वाय हुन्छ । घटना विवरणमध्ये सबैभन्दा बढि संख्या पनि लागुऔषध कारोवारीलाई पक्राउ गरेको र लागुऔषध बरामत गरेकै हुने गरेको छ । झापाका प्रहरी प्रवक्ता राकेश थापाले जिल्लामा लागुऔषधको चुनौति रहेको बताएका छन् । उनले सुरक्षा निकाय र सबै सरोकारवालाको समन्वयमा लागुऔषधको नियन्त्रण जरुरी रहेको बताए ।

चालु आर्थिक वर्षको छ महिनामा जिल्ला प्रहरी कार्यालय झापाले ११७ पुरुष र ७ जना महिलालाई पक्राउ गरेको छ । लागुऔषध कारोवार र प्रयोगकर्ता गर्नेहरु बढ्दै गएको तथ्याङकले देखाएको छ । गत साउन महिनादेखि १२४ जनालाई पक्राउ गरिएको प्रवक्ता थापाले जानकारी दिए ।

छ महिनामा प्रहरीले उनीहरुको साथबाट ८२१ ग्राम ७२६ मिलिग्राम ब्राउन सुगर बरामत गरेको छ । यस्तै, नाइट्रोसन ६४७ चक्की, नाइट्रोगेट ३७ चक्की, डाइजोपाम ३५९ एम्पुल, लुपिजेसिक ३५९ एम्पुल, फेनरागन २६४ एम्पुल, हाइड्रोकोराइड ९५ एम्पुल,कोरेक्स २५ बोतल, स्कप ९१ बोतल र गाँजा १० केजी ३ सय ग्राम बरामत गरेको थापाले जानकारी दिए । साथै, प्रहरी सो लागुऔषध ओसारपसारमा प्रयोग भएका ८ वटा मोटरसाइकल, स्कुटी २ थान र टेम्पो १ थान नियन्त्रणमा लिइएको छ ।

लागूऔषध मुद्दामा पक्राउ परेका अधिकांश कारागार चलान

झापामा लागूऔषधसँग सम्बन्धित अपराधमा पक्राउ परेका अधिकांश अभियुक्त कानूनी कारवाहीका सिलसिलामा कारागार चलान हुने गरेका छन् । गत वर्ष माघ १ गतेदेखि पुस मसान्तसम्म एक वर्षको अवधिमा यहाँ लागूऔषध मुद्दामा १९९ व्यक्तिलाई कानूनी कठघरामा उभ्याइएकामा १४८ जना कारागार चलान भएका छन् । यसलाई अपराध नियन्त्रणको दृष्टिले सकारात्मक सङ्केतका रुपमा लिइएको छ ।

थापाका अनुसार सो अवधिमा ४१ जना मात्र कारागार नगई धरौटीमा छुटेका थिए । पक्राउ पर्नेमा ११ महिला र नौ नाबालक पनि थिए । कारागार चलान हुनेमा सात महिला र छ नाबालक छन् । काँकडभिट्टा सबैभन्दा बढी लागुऔषधको ओसारपसार र अपराध हुने क्षेत्र हो । त्यसपछि भद्रपुर, गौरीगञ्ज, विर्तामोड र दमकमा सो अपराध धेरै हुने गरेको छ ।

प्रहरी र समुदायको आपसी सहकार्यमा जिल्लामा लागूऔषधको जालो च्यात्न लामो समयदेखि प्रयास हुँदै आएको छ । जिल्लामा सरुवा भई आउने हरेक प्रहरी प्रमुखले लागूऔषधको अपराध नियन्त्रणलाई प्राथमिकतामा राख्ने गरेका छन् । सबुत प्रमाणसहित अभियुक्त पक्राउ पर्ने गरेका कारण पछिल्लो समय लागूऔषधअपराध मुद्दामा पक्राउ परेका अधिकांश व्यक्तिले कानूनले तोकेबमोजिमको दण्ड सजाय भोगिरहेको प्रवक्ता थापाले बताए । लागुऔषध नियन्त्रणमा प्रहरीले सक्रियता देखाए पनि सामाजिक क्षेत्रमा क्रियाशिल संघसंस्थाहरुले खासै चासो देखाएका छैनन् ।

शेयर गर्नुहोस :

0
Shares