५ लाख क्षतिपूर्ति वापत उपलब्ध गराउने सहमति
बिर्तामोड । निर्माणाधिन सडक दुर्घटनाको मुख्य जोखिम क्षेत्र भएको छ । निर्माणका लागि खनिएका सडकमा परेर कयौं घाइते भइरहेका छन् भने केहिको मृत्यू समेत भएको छ । यस्तै, घटना बुधबार साँझ बाह्रदशीमा भएको छ ।
चारपाने–चैतुबारी –मतिगडा–राजगढ सडक खण्डमा खनिएको खाल्डोमा परेर कचनकवल –१ का नन्दलाल राजवंशीको मृत्यू भयो । रातको समयमा खाल्डोबारे चालकले कुनै मेसो पाएनन् । बिर्तामोडका केदार गिरीले निर्माण गरिरहेको सो सडक खण्डमा दुर्घटना जोखिमको कुनै संकेत समेत नराखिएको स्थानीयले जानकारी दिए । सांकेतिक कुनै पनि चिन्ह नभएकाले राजवंशीको अकालमै ज्यान गयो ।

सडक निर्माणकै क्रममा भएको लापरबाहीले दुर्घटना भएको दावी गर्दै राजवंशी परिवारले शव उठाउन मानेन् । पछि सरोकारवाला बिच भएको छलफलमा तत्काल काजक्रियाका लागि १ लाख र सडक विभागबाट ५ लाख क्षतिपूर्ति वापत उपलब्ध गराउने सहमति पछि शव उठाइएको स्थानीय वडाध्यक्ष विरेन राजवंशीले जानकारी दिए । राजवंशीसँगै सवार व्यक्ति समेत घाइते भएका छन् ।
जिल्लाभर सडक तथा पूर्वाधार विकासका काम भइरहेका छन् । निर्माणका लागि खनिएका खाल्डोमा परेर यसअघि बिर्तामोडमा समेत एक जना गम्भीर घाइते भएका थिए ।
दुई वर्षअघि बिर्तामोडस्थित क्वालिटी कम्युटर अगाडि खनिएको खाल्डोमा परेर अभिषेक सुवेदी घाइते भएका थिए । उनले खाल्डो नदेखेपछि मोटरसाइकल सहित जोतिएका थिए । सो समयमा पनि खाल्डो आसपासमा कुनै संकेतहरु राखिएको थिए । गत महिना मात्रै बिर्तामोडको भद्रपुर रोडमा निर्माण गरिएको ड्रेनमा एक महिला छिरेकी थिइन् । एक सुरले हिडिरहेकी महिलालाई ड्रेन नछोपेको बारे थाहा थिएन । नत, निर्माण व्यवसायीले नै छेकेका थिए । सो घटनापछि स्थानीय व्यवसायीले निर्माण व्यवसायीलाई दवाव दिएर ड्रेनको ढकन लगाउन लगाएका थिए ।
निर्माण व्यवसायीले अनिवार्य रुपमा जोखिम क्षेत्रहरु संकेत गर्नुपर्ने व्यवस्था गरिएको छ । तर, व्यवसायीले त्यसलाई चासो दिइरहेका छैनन् । उनीहरुको लापरबाहीले धेरैको जीवन जोखिममा परेको पैदलयात्री बताउँछन् ।







प्रतिक्रिया