Banner news

कोभिड–१९ अस्पताल धरानमा उपचारका लागि भर्ना हुनेहरूको सङ्ख्या बढ्दै

कोभिड–१९ अस्पताल धरानमा उपचारका लागि भर्ना हुनेहरूको सङ्ख्या बढ्दै


धरान। सुनसरीको धरानस्थित विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको कोभिड–१९ अस्पतालमा उपचारका लागि भर्ना हुनेहरूको सङ्ख्या बढेको छ । एक महिना अघि शून्य झँै रहेको विरामी भर्ना एकसाता यता बढेको हो । नेपाल भारत सीमाको विहारसहित विभिन्न प्रान्तमा कोरोनाको दोस्रो लहर सुरु भएसँगै सुनसरीमा पनि कोरोना सङ्क्रमितको सङ्ख्या दिनदिनै बढेकाले भर्ना दर पनि बढेको हो ।

सङ्क्रमितको सङ्ख्या बढेपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचारका लागि भर्ना हुनेहरूको सङ्ख्या एकसाता यता उल्लेख्यरूपमा वृद्धि भएको अस्पतालले जनाएको छ । यसअघि करिब तीन महिना जति सुनसान जस्तै रहेको प्रतिष्ठानको कोभिड अस्पतालमा पछिल्लो समयमा १५ जना भर्ना भएका छन् ।

तीमध्ये दुईजना आइसियुमा र दुईजना हाईडिपेण्डेन्सी युनिटमा भर्ना भएका छन् । प्रतिष्ठानका सह–प्रवक्ता डा. चुडामणि पोखरेलका अनुसार शनिबारमात्र पाँचजना नयाँ सङ्क्रमित भर्ना भएका छन् । थपिएका नयाँ सङ्क्रमितहरूमा कोरोनाको कुन भेरियण्ट हो भन्ने अहिलेसम्म जानकारीमा आएको छैन ।

कोरोनाको नयाँ भेरियण्ट तीव्र सङ्क्रमण गर्ने खालको भएको वैज्ञानिकहरूले बताउँदै आएका छन् । प्रतिष्ठानमा १५ आइसियु, २५ हाईडिपेण्डेन्सी युनिट (एचडियु) र ६० जनरल बेड रहेका छन् । ती बेडहरूमा प्रतिष्ठानले अक्सिजन आपूर्तिका लागि अक्सिजन प्लाण्टबाटै जोडिएको अक्सिजन पाइपलाइन जोडेको डा. पोखरेलले बताउनुभयो ।

यता स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत दीक्षा श्रेष्ठका अनुसार जिल्लामा सबैभन्दा बढी इटहरी उपमहानगरपालिकामा २० जना, धरान उपमहानगरमा १५ जना र इनरुवा नगरपालिकामा ५ जना कोरोना सङ्क्रमित थपिएको छ ।

शेयर गर्नुहोस :

0
Shares