Banner news

बिर्तामोडको बजेट १ अर्व ३० करोड ७७ लाख

बिर्तामोडको बजेट १ अर्व ३० करोड ७७ लाख


विर्तामोड । बिर्तामोड नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ को लागि कुल १ अर्व ३० करोड ७७ लाख ७९ हजार ५ सय रुपैँयाको बजेट प्रस्ताव गरेको छ । बिहीबार आयोजित सातौँ नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर उपप्रमुख पवित्रा महतारा प्रसाईले उक्त बजेट प्रस्ताव गर्नु भएको हो ।

उक्त बजेट चालु आर्थिक वर्षको प्रस्तावित बजेटको १३.६७ प्रतिशत वृद्धि र संशोधित बजेटको २.९० प्रतिशतले वृद्धि भएको छ । बजेटमा आन्तरिक श्रोतबाट १५ करोड, घर जग्गा रजिष्ट्रेसन बाँडफाँडबाट १० करोड, लागत सहभागिता १ करोड, संघीय सरकारबाट प्राप्त हुने वित्तिय समानिकरण २२ करोड ४९ लाख, राजश्व बाँडफाँड ११ करोड ९ लाख ४६ हजार, शर्सत अनुदान ४२ करोड ८४ लाख, विशेष अनुदान १ करोड ९९लाख, समपुरक अनुदान २ करोड ८५ लाख तथा प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण १ करोड ३३ लाख ७२ हजार, सर्शत अनुदान ५० हजार, राजश्व बाँडफाँड १ करोड १७ लाख ११ हजार ५ सय, समपुरक अनुदान करोड र सामाजिक सुरक्षा २० करोड गरि कुल १ अर्व ३० करोड ७७ लाख ७९ हजार ५ सय रुपैयाँको स्रोतगत अनुमान प्रस्तुत गरिएको छ ।

नगरपालिकाले चालु खर्च ४४ करोड ३५ लाख १४ हजार र पुँजीगत खर्च ६६ करोड ४२ लाख ६५ हजार ५ सय तथा सामाजिक सुरक्षा वापत २० करोड गरि कुल १ अर्व ३० करोड ७७ लाख ७९ हजार ५ सयको व्यय हुने अनुमान गरिएको छ । प्रस्तावित बजेटमा पूर्वाधार विकासको क्षेत्रमा ५६ करोड १४ लाख ५० हजार, आर्थिक विकासमा २८ करोड २७ लाख, सामाजिक विकासमा ३८ करोड २ लाख १४ हजार ५ सय, वातावरण तथा विपद् व्यवस्थापनमा ७५ लाख ५० हजार र सार्वजनिक सेवा तथा क्षमता विकास (प्रशासनिक र चालु खर्च समेत) ३२ करोड ९८ लाख १५ हजार बजेट विनियोजन गरिएको छ ।

विश्वव्यापी महामारीको रुपमा रहेको कोभिड–१९ को कारणबाट आन्तरिक स्रोत संकलनमा कठिनाई उत्पन्न भएको भन्दै उपप्रमुख प्रसाईले मालपोत रजिष्ट्रेसन शुल्क, घर बहाल कर, सम्पति कर, नक्सा पास दस्तुर, तथा व्यवसाय कर प्रस्तावित भन्दा करिब २० प्रतिशत भन्दा कम संकलन भएको बताउनु भयो ।
नगरप्रमुख ध्रुवकुमार शिवाकोटीको अध्यक्षता तथा प्रदेश १ सभा सदस्य एकराज कार्कीको प्रमुख आतिथ्यमा नगरसभा बैठक सुरु भएको हो ।

शेयर गर्नुहोस :

0
Shares