बिर्तामोड । नेकपा एमाले हल्दीवारीले शुभदीपावली २०८३ को अवसर पारेर देउसीभैलो प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगितामा डिजिलट माध्यमबाट सहभागी बन्न पाइने भएको छ । बिहीवार गोल्धापमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताका बारेमा जानकारी दिइएको हो ।
नेपालीहरुको मौलिक कला संस्कृतिको संरक्षण र दीपावलीको विशेष कार्यक्रमका रुपमा रहेको देउसीभैलो प्रवद्र्धन तथा संरक्षण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको नेकपा एमाले हल्दिवारीका अध्यक्ष त्रिलोचन सापकोटाले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा हल्दिवारीभित्र रहेका विद्यालय, संघ संस्था, युवा तथा महिला समूह, धार्मिक समूह, टोल समूहहरुले सहभागिता जनाउन पाउने छन् । स्थानीय प्रतिभाको पहिचान र सामाजिक सद्भाव कायम गर्न प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष सापकोटाको भनाई छ ।

प्रतियोगितामा सहभागी हुन ५ जनाभन्दा धेरै संख्या हुनुपर्ने छ भने कात्तिक २५ गतेसम्म समूहहरुले नाम दर्ता गराउनुपर्ने छ । देउसीभैलोमा मौलिकता र लोकसंस्कृति झल्किने हुनुपर्ने अध्यक्ष सापकोटाको भनाई छ । यस्तै, सामाजिक एकताको सन्देश प्रकट हुनुपर्ने किसिमको हुनुपर्ने बताइएको छ । देउसीमा भेषभुषाका साथै बाध्यबादन लगायतलाई ख्याल गरिने जनाइएको छ । देउसी खेलेर रेकर्ड गरिएको भिडियो कम्तिमा ५ मिनेटको हुनुपर्ने र सम्पादन नगरिएको हुनुपर्ने छ । प्रतियोगितामा सहभागिताका लागि नाम दर्ता गराउनेहरुले कात्तिक २९ गतेसम्म वाटसप नम्बर ९८०४९०१६०० र ९८५२६७३१६९ मा पठाउनुपर्ने छ ।
प्रतियोगितामा सहभागिहरुले पठाएको भिडियो विभिन्न मापदण्डका आधारमा मुल्याङकन गरेर विजेता घोषणा गर्ने अध्यक्ष सापकोटाले जानकारी दिए । उनका अनुसार प्रतियोगिताको विजेतालाई नगद २१ हजार, उपविजेतालाई १५ हजार , तेस्रो हुनेलाई १० हजार र सान्त्वना स्वरुप २ समूहलाई ५-५ हजार , प्रमाणपत्र प्रदान गरिने छ । विजेता घोषणा र पुरस्कार वितरणका लागि अर्को सूचना जारी गर्ने जनाइएको छ ।
पत्रकार सम्मेलनअघि स्थानीय पत्रकारहरुसँग अन्तरक्रिया गरिएको थियो । अन्तरक्रियामा एमालेले समग्र सञ्चार क्षेत्रमा गर्नुपर्ने कामहरुका सन्दर्भमा छलफल गरिएको थियो । ग्रामीण प्रेस क्लवका अध्यक्ष नेत्रविक्रम विमली लगायत मञ्चका पदाधिकारी तथा सदस्यहरुले सूझाव राखेका थिए ।
प्रेस चौतारी नेपाल झापाका अध्यक्ष प्रदीप परियारले नेकपा एमालेले मिडिया क्षेत्र समन्वय गरेर रुपान्तरणको अभियानलाई अघि बढाउन आग्रह गरेका थिए । एमाले सञ्चारमैत्री हुनुपर्ने, स्थानीय तहमा सञ्चार नीति निर्माण, लोककल्याणकारी विज्ञापनको वितरण, स्थानीय मिडिलाई प्राथमिकता दिनपर्ने लगायतका विषयमा धारणा राखेका थिए ।
एमाले नेता मोहन रेग्मीले देउसीभैलो प्रतियोगितालाई भव्य रुपमा सफल बनाउन सबैको सहयोग आवश्यक हुने बताउँदै सञ्चार क्षेत्रसँग आवश्यक सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता जनाए ।








प्रतिक्रिया