Banner news

नेपालमा २२ जनामा कालोढुसी संक्रमण पुष्टि

नेपालमा २२ जनामा कालोढुसी संक्रमण पुष्टि


काठमाडौं । कोभिड संक्रमण पुष्टि भएका बिरामीमा देखिएको म्यूकर माईकोसिस (कालो ढुसी) का संक्रमितहरु नेपालमा अहिलेसम्म २२ जना देखिएको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सूचना अधिकारी डा.समिर अधिकारीका अनुसार अहिले नेपालका विभिन्न जिल्लामा गरी २२ जनामा संक्रमण पुष्टि भएको बताउनुभएको छ । अहिले कुन अस्पतालमा कति छन् भन्ने यकिन भने भैनसकेको उहाँले बताउनुभएको छ ।
यता त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा अहिलेसम्म म्युकरमाईकोसिसका १५ जना बिरामी भर्ना भएको अस्पताल प्रशासनले जनाएको छ । जसमध्ये अहिले आठ जना उपचाररत छन् भने एक जनाको मृत्यु भएको र बाँकी डिस्टार्ज भएको अस्पतालका डा. राजेन्द्र प्रधानाङ्गले बताउनुभएको छ ।

डिस्टार्ज भएकामध्ये केहिको आँखाको शल्यक्रिया गरेर घर पठाईएको छ भने केहिको शल्यक्रिया गर्न नै नमिलेका कारण घर पठाउनु परेको उहाँले बताउनुभएको छ ।
शल्यक्रिया गरेर घर फिर्ता भएकाहरुमा पूर्णतया निको हुने सम्भावना कम नै रहेको उहाँको भनाई छ । “यो शल्यक्रिया गरेपछि निको हुन्छ नै भन्ने हँुदैन, हामीले आँखा वरीपरी जमेको रगत सफा गरेर हेर्छौ त्यसपछि मात्र शल्यक्रिया गर्ने नगर्ने निधो गर्छौ । हामीकहाँ आएका अधिकांश बिरामीहरु धेरै जटिलता भएपछि मात्र आएको कारणले पनि धेरै शल्यक्रिया गर्न नै समस्या भैरहेको छ ” उहाँले भन्नुभयो ।

कालो ढुसिको संक्रमण भएको शंका लागेपछि नै अस्पतालमा जान उहाँले सुभाव दिनुभएको छ ।
कालो ढुसीका बिरामीका लागि दिईने एम्फोटेरीसीन बी नामको औषधिको अहिले अभाव रहेको समेत उहाँले बताउनुभएको छ । यो औषधि कालाजारका बिरामीका लागि प्रयोग गरीदै आएको भए पनि पछिल्लो समय कालो ढुसीका बिरामीका लागि पनि प्रयोग गरीदै आईएको थियो ।
एम्फोटेरीसीन बी औषधिको अभाव रहेका कारण अहिले विकल्पका रुपमा पेसाकोनाजोल औषधिको प्रयोग गरीएको डा. प्रधानाङ्गले बताउनुभयो ।

कालो ढुसिको संक्रमण भएकालाई प्रयोग गरीदै आएको कालाजारको एम्फोटेरीसीन बी नामको औषधि अहिले सकिएको र मन्त्रालय यो औषधि किन्ने प्रक्रियामै रहेको मन्त्रालयका सूचना अधिकारी डा.समिर अधिकारीले बताउनुभयो । Gorkhapatra

शेयर गर्नुहोस :

0
Shares