बिर्तामोडमा एउटा सिङ्गो गाउँ विस्थापित गर्ने चलखेल
बिर्तामोड । झापाको बिर्तामोडमा एउटा सिङ्गो गाउँ नै विस्थापित गर्न लागेको भन्दै न्यायका लागि माग गरिएको छ । बिर्तामोड नगरपालिका वडा नम्बर ३ मा बसोबास गर्ने ४० परिवारले आफुहरुलाई उठिवास लगाएर जग्गाको भोगचलन गर्न खोजेको आरोप लगाएका छन् ।
४० परिवार रहेको सो सुकुम्वासी बस्ती क्षेत्रमा रहेको सबै जग्गाहरु आफ्नो नाममा दर्ता रहेको बताउँदै एक समूहले खाली गरिदिन भनेपछि सुकुम्बासीहरु आक्रोसित बनेका छन् । बिर्तामोड–३ को करेलावारी टोल बिकास संस्था अन्तरगत सैनिकमोड पश्चिममा रहेको अदुवाखोलाको किनारमा बसोवास गर्ने सुकुम्बासीहरुले जग्गामा माफियाको आँखा परेको भन्दै स्थानीय वडामा जग्गा रोक्काका लागि निवेदन दिएका छन् ।
२०३० साल देखि बसोबास गरेका ४० परिवारलाई गाउँ मै पुगेर जग्गा खाली गर्न लगाएको पीडित निवेदकहरुले बताएका छन् । जग्गा खाली गर्न दमक –१० निवासी सरस्वती ढकाल र घनेन्द्र देवी थापाको प्रतिनिधि आएको बुझिएको छ । पीडितहरुले उनीहरुको नाम उल्लेख गरेर ठाउँ छोड्न दवाव दिएका छन् ।

उनीहरुले जग्गा धनी प्रमाणपुर्जा आफ्नो नाममा रहेको साथै आफ्नो बाबु–बाजेले पहिलै किनेर छाडेकोले खाली गर्नुपर्ने बताउँदै आएपछि सुकुम्बासी क्षेत्रमा बसोबास गर्नेहरु आक्रोसित हुदै वडा कार्यालय पुगेका छन् ।
कित्ता नम्बर ५७७ भएको ९ कठ्ठा जग्गा साविक अनारमनी–७ को सरस्वती ढकाल समेतको नाममा रहेको रेकर्ड देखाउँदै कहिले डोमालाल रंगशाला पूर्वको अदुवाखोला कहिले सैनिकमोड पश्चिमको अदुवाखोला किनारमा रहेको सुकुम्बासी बसोवास स्थल आफ्नो भएको बताउने एक समूह सक्रिय रुपमा लागि परेको उनीहरुको भनाई छ ।
बिर्तामोड–३ को वडा कार्यालयले मालपोत वा कुनै पनि सिफारिस लिन आएमा माथिल्लो निकायसँग बुझेर मात्रै कारवाही गरिने बुझिएको छ । जग्गा खाली गर्न लगाएपछि ५३ जना सुकुम्बासीहरुले हस्ताक्षर सहित लिखित रुपमा वडा कार्यालयमा उजुरी दिईसकेका छन् ।
सो जग्गामा कुनै पनि गलत कार्य नगर्न स्थानीय युवा मदन बुढाथोकीले सचेत गराएका छन् । उनले सुकुम्वासीबस्तीमा एक इन्च अन्याय भएमा आफुहरु चुप नबस्ने बताए ।