Banner news

पूर्वराजा ज्ञानेन्द्रलाई चुनाव लडेर शासन गर्न प्रधानमन्त्री देउवाले दिए चुनौती

पूर्वराजा ज्ञानेन्द्रलाई चुनाव लडेर शासन गर्न प्रधानमन्त्री देउवाले दिए चुनौती


काठमाडौँ – प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनाव लडेर शासन गर्न चुनौती दिएका छन्।

गणेशमान स्मृति शान्ति प्रतिष्ठानले शान्ति बाटिकामा बुधबार आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले शासन गर्नका लागि चुनाव लडेर आउनुपर्ने बताए। उनले प्रजातन्त्रको विरुद्धमा नलाग्नसमेत पूर्वराजा ज्ञानेन्द्र शाहलाई चेतावनी दिएका छन्।

पूर्वराजा शाहलाई प्रजातन्त्रबाहेक सबै कुरा सुम्पिने बताउँदा आफूलाई जेलमा हालेको स्मरण गर्दै प्रधानमन्त्री देउवाले शासन व्यवस्थाविरुद्ध नलाग्न चेतावनी दिएका हुन्।

‘गणतन्त्र राजा ज्ञानेन्द्रले नै ल्याएको हो, हामीले ल्याएकै होइन, मैले सरकार सबै चढाउँछु, प्रजातन्त्रविरुद्ध जान सक्दिनँ भने तर मलाई जेलमा थुनियो, त्यसकरण एकाएक जनता तातिए’, उनले भने, ‘देश प्रजातन्त्रको पक्षमा गइसकेको छ, तैपनि यसको खिलाफमा मान्छे लाग्न सक्छन्। त्यसकारण अगाडि बढे भइहाल्यो नि, मैले भनिसकेँ प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो, अरु हुनै सक्दैन, उनीहरुले चुनाव आएर लडे भइहाल्यो नि, चुनाव लड्न नसक्ने अनि प्रजातन्त्रको खिलाफ भनेर हुन्छ?’

अहिलेको संविधान सबैभन्दा राम्रो भएको प्रधानमन्त्री देउवाको भनाइ छ। समावेशी, समानुपातिक र सबैलाई अटाएको संविधानमा केही समस्या आउन सक्ने भन्दै उनले यसको प्रजातान्त्रिक ढंगबाटै समाधान गरिनुपर्नेमा जोड दिए।

प्रधानमन्त्री देउवाले प्रजातन्त्रमा सबैभन्दा ठूलो शक्ति भनेकै जनता भएको बताए। उनले निर्वाचन आयोग र वडादेखि नै हुने चुनाव निष्पक्ष र धाँधलीरहित हुनुपर्ने स्पष्ट पारे।

जनताभन्दा ठूलो अर्को शक्ति नै छैन्, जनता नै हो यो देशको मालिक, जनताले सहयोग गरेनन् भने जान्छ, त्यसैले यहाँ जनतन्त्र भन्छ, प्रजातन्त्र भन्छ, प्रजा भनेको जनता नै हो’, उनले भने, ‘यसमा अर्को पाटो हो, निष्पक्ष चुनाव, कसैले पनि धाँधली गर्न नसकोस्, बदमासी गर्न नसकोस्, त्यसैले निर्वाचन आयोग छ, त्यो अत्यन्तै स्वतन्त्र हुनुपर्छ, कुनै पार्टीसँग मिल्ने होइन, स्वतन्त्र रहने संस्था हो।’

प्रधानमन्त्री देउवाले सरकारले जनताप्रति काम गरेन भने अर्को आउने भन्दै जनताप्रति प्रजातन्त्रलाई कसरी उत्तरदायी बनाउने त्यतातिर सबै लाग्नुपर्नेमा जोड दिए।

प्रधानमन्त्री देउवाले पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनका कारण नेपालमा मनसुनजन्य विपद् आइरहेको जिकिर गरे। विश्व नै अहिले पेट्रोलियम पदार्थलाई विस्थापित गरेर विद्युतीय सवारीसाधनको प्रयोग गर्नुपर्ने रणनीतिअनुसार अघि बढिरहेको उनको भनाइ छ।

उनले जलवायु परिवर्तनका कारण देशका हिमालहरुमा हिउँ पर्न छोडेको भन्दै अब वातावरण सफा बनाउनेतर्फ जागरुक हुनुपर्ने आवश्यकता औंल्याए।

शेयर गर्नुहोस :

0
Shares