मुख्य समाचार

एमालेले सातै प्रदेशमा निर्वाचन केन्द्रित प्रशिक्षण कार्यक्रम गर्ने

एमालेले सातै प्रदेशमा निर्वाचन केन्द्रित प्रशिक्षण कार्यक्रम गर्ने


बिर्तामोड । नेकपा (एमाले)ले स्थानीय तह निर्वाचनको तयारीमा केन्द्रित रहेर सातै प्रदेशमा प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम तय गरेको छ । महासचिव शंकर पोखरेलले माघ २५ गते प्रदेश कमिटीहरुका नाममा पत्र जारी गर्दै आवश्यक तयारीमा लाग्न निर्देशन दिएका छन् ।

पार्टीको लगातारको दबाब, निर्वाचन आयोगको ताकेता, जनस्तरबाट व्यक्त खबरदारी समेतका कारण सरकारले आगामी २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने गरी निर्णय गरेकाले उक्त निर्वाचनलाई पार्टीका पक्षमा पार्नका लागि मातहत कमिटी, नेता तथा कार्यकर्तालाई तयारी हालतमा राख्नका लागि कार्यक्रम आयोजना गर्न लागिएको छ ।
दुई दिने कार्यक्रमको उद्घाटन अध्यक्ष कमरेड केपी शर्मा ओलीले माघ २८ गते भर्चुअल माध्यमबाट गर्ने तय भएको छ । उद्घाटन शत्रमा पार्टी केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यहरु, प्रदेश कमिटीका पदाधिकारी तथा जिल्ला कमिटीका पदाधिकारी एवं प्रशिक्षणमा सहभागी प्रशिक्षार्थीहरु सहभागी रहनेछन् ।

दसौं राष्ट्रिय महाधिवेशन-विधान महाधिवेशनबाट पारित सिद्धान्त, कार्यक्रम र कार्यदिशा, सबल, गतिशील र अनुशासित पार्टी निर्माणः राजनीतिक, सङ्गठनात्मक र शैलीगत विषयहरु, स्थानीय तहमा हाम्रा पाँच वर्षः उपलब्धी र अनुभवहरु , स्थानीय तह निर्वाचनको तयारीः राजनीतिक, कानुनी र व्यवहारिक पक्षहरु प्रशिक्षणका विषयहरु रहने छन् ।

प्रशिक्षणमा प्रदेश कमिटीका इञ्चार्ज तथा सह इञ्चार्जहरु, प्रदेश कमिटी पदाधिकारीहरु, प्रदेश कमिटीका स्कुल तथा स्थानीय तह विभाग प्रमुखहरु, प्रदेश अन्तर्गतका सबै जिल्ला कमिटी इञ्चार्ज÷सहइन्चार्जहरु, प्रदेश अन्तर्गतका सबै जिल्ला कमिटी पदाधिकारीहरु, सबै जिल्ला कमिटी स्कुल तथा स्थानीय तह विभागका प्रमुखहरु, नेकपा (एमाले)बाट निर्वाचित जि.स.स. प्रमुख वा प्रमुख नभएको जिल्लाबाट उपप्रमुख, नेकपा (एमाले)बाट विजयी पालिका प्रमुख वा पालिका प्रमुख नभएकोमा उपप्रमुखहरु, पालिका पार्टी कमिटीका अध्यक्षहरु सहभागी बन्न पाउने छन् ।

प्रदेश नं १ मा फागुन १– २ विराटनगर, मधेस प्रदेशमा फागुन ३–४ जनकपुर, वागमती प्रदेशमा फागुन ६–७ काठमाडौं, गण्डकी प्रदेशमा फागुन ८–९ पोखरा, लुम्बिनी प्रदेशमा फागुन ११–१२ बुटवल-दाङ, कर्णाली प्रदेशमा फागुन १४–१५ सुर्खेत र सुदूरपश्चिम प्रदेशमा फागुन १६–१७ गते धनगढीमा कार्यक्रम आयोजना नेकपा एमालेले जनाएको छ । पहिलो दिन बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म, दोस्रो दिन बिहान ८ बजेदेखि दिनको ४ बजेसम्म प्रशिक्षण सञ्चालन हुने छ ।

शेयर गर्नुहोस :

0
Shares