Banner news

झापामा सवारी दुर्घटनाबाट ६ महिनामा ६८ जनाको मृत्यु

झापामा सवारी दुर्घटनाबाट ६ महिनामा ६८ जनाको मृत्यु


गगन ढकाल

बिर्तामोड । झापामा चालु आर्थिक वर्ष ०७९/८० को ६ महिनामा सवारी दुर्घटनामा परी ६८ जनाको मृत्यु भएको छ । पछिल्लो ६ महिनाको तथ्यांकलाई हेर्ने हो भने असोजमा दुर्घटनामा परी घुमाउनेको संख्या सबै भन्दा धेरै छ ।
जिल्ला ट्राफिक कार्यालय झापाका अनुसार असोजमा १६ जनाले ज्यान गुमाए भने भदौमा ५ , श्रावणमा १२ जना, कात्तिकमा ९ जना, मंसिरमा १४ जना र पुषमा १२ जनाले ज्यान गुमाएका छन् ।

जिल्ला ट्राफिक कार्यालयको तथ्यांकलाई हेर्दा पछिल्लो ६ महिनामा ५० जना पुरुष, १४ जना महिला र ४ जना बालबालिकाहरुले दुर्घटनामा परी ज्यान गुमाएका छन् ।

त्यसै गरी श्रावणमा १३, भदौमा २३, असोजमा ३३, कात्तिकमा ११, मंसिरमा १३ र पुषमा ७ जना गरी जम्मा १०० जना मानिसहरु दुर्घटनामा शक्त घाइते भएका छन् । शक्त घाइते हुनेमा ७५ जना पुरुष, २० जना महिला र ५ जना बालबालिका रहेको ट्राफिक प्रहरीले जानकारी दिएका छन् ।

त्यस्तै, झापामा पछिल्लो ६ महिनामा ५६६ जना दुर्घटनामा परी सामान्य घाइते भएका छन् । सामान्य घाइते हुनेमा ४१९ जना पुरुष, ११९ जना महिला र २८ जना बालबालिका रहेका छन् ।

झापामा दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या हरेका वर्ष वृद्धि भएको देखिन्छ । यो वर्ष पनि पछिल्लो ६ महिनाको झै दुर्घटनामा कमि नआउने हो भने अघिल्लो वर्षको तुलनामा ज्यान गुमाउनेको संख्यामा वृद्धि हुने देखिन्छ । आर्थिक वर्ष ०७६/७७ मा ६२ जनाले दुर्घटनामा ज्यान गुमाएका थिए भने ०७७-७८ मा ९३ जना र ०८७÷७९ मा ११६ जनाले दुर्घटनामा ज्यान गुमाएका थिए ।

झापाका ट्राफिक प्रमुख अशोककुमार जवेगुले दुर्घटना न्यूनिकरणका लागि अभियानहरु सञ्चालन गरिरहेको जानकारी दिए । उनले सवारी चेकजाँचलाई प्रभावकारी बनाइरहेको बताएका छन् । सवारी चालकले आफ्नो जीवनलाई माया गरेर सवारी चलाउनुपर्ने उनको धारणा छ । प्रमुख जवेगुले धेरैजसो दुर्घटना लापरबाहीकै कारण हुने गरेको बताए । उनका अनुसार लापरबाहीका कारण भएका धेरैजसो दुर्घटनामा ज्यान नै जाने गरेको छ । उनले दुर्घटनालाई न्यूनिकरण गर्न राती १२ बजेसम्म चेकजाँच गर्ने गरिएको बताए ।

शेयर गर्नुहोस :

0
Shares