बिर्तामोड । झापाको बिर्तामोडमा जडित सीसी क्यामेराले शान्ति सुरक्षासँगै अपराध, अनुसनधानमा ठुलो मद्दत पुगेको छ । प्रहरीले सीसी क्यामेराको सहायताबाट अनेकौं घटनाको अनुसन्धान गर्दै आएको छ । घटनामा संलग्नहरुको पहिचानका लागि सीसी क्यामेरा धेरै प्रभावकारी भएको बिर्तामोडका डिएसपी रुगम बहादुर कुँवर बताउँछन् ।
इलाका प्रहरी कार्यालय अनारमनीको कार्यक्षेत्रभित्र १ सय वटा सीसी क्यामेरा जडान गरिएको छ । त्यसमध्ये अहिले ६ वटा विग्रिएका छन् । प्रदेश सरकारको सहयोगमा १६ वटा र बाँकी समुदायको सहयोगमा क्यामेरा जडान गरिएको थियो । दिउँसो हुने अधिकांश घटनाहरुमा सीसी क्यामेराको मद्दतबाट अनुसन्धान गर्न सहयोग पुगेको डिएसपी कुँवरको भनाई छ । उनका अनुसार रातीको समयमा हुने घटनाहरुमा भने सीसी क्यामेरा प्रभावकारी रुपमा प्रयोग हुन सकेको छैन । डिएसपी कुँवरले सडकवत्तीको समस्याका कारण सीसी क्यामेराले राती भएका घटनाहरुमा पहिचान गर्न नसक्ने बताए ।

बिर्तामोडमा जडान गरिएका अधिकांश सडकवत्तीले राम्रोसँग काम गर्न सकिरहेको छैन । सडकवत्ती राम्रो नबलेकै कारण सीसी क्यामेराबाट हेर्न गाह्रो हुने उनको भनाई छ । सडकवत्तीको आवश्यक व्यवस्थापन मिलाउन सके मात्र रातको समयमा हुने घटनाहरुमा सीसी क्यामेरालाई प्रभावकारी बनाउन सकिने उनले बताए ।
अहिले ६ ठाउँको सीसी क्यामेरा समेत विग्रिएको डिएसपी कुँवरको भनाई छ । इप्रका बिर्तामोडको कार्यक्षेत्र पूर्वमा देउनिया पुल र पश्चिममा सुरुङासम्म ६ वटा सीसी क्यामेरा मर्मत गर्नुपर्ने भएको छ । सहारा नेपालको प्रधान कार्यालय चारपाने अगाडिको क्यामेरा, मेची आँखा शिविर नजिकै खगेन्द्र काष्ठ फर्निचर, पञ्चकन्या प्लटिङ क्षेत्र, महानन्द चोक, सुगम पेट्रोल पम्प क्षेत्रमा जडित क्यामेरा अहिले सञ्चालनमा छैन । उक्त क्षेत्रमा तत्कालै क्यामेरा जडान गर्नुपर्ने डिएसपी कुँवरको भनाई छ ।
बिर्तामोडमा अझै धेरै ठाउँहरुमा क्यामेरा जडान गर्नुपर्ने आवश्यकता छ । भित्री सडकहरु, गल्लीहरुमा, जात्रुवाडी क्षेत्र, पुरानो भद्रपुर रोड,हिकोलाको भित्रि रोड, पश्चिम स्टेण्डमा क्यामेरा जडान गरिनुपर्ने प्रहरीको भनाई छ । सीसी क्यामेरा जडान हुँदा चोरीमा संलग्नहरु, सडक दुर्घटना, ठगी गर्नेहरुलाई पहिचान गर्न सहज भएको डिएसपी कुँवरको भनाई छ ।
३ वर्षअघि बिर्तामोडमा भएको ठुलो परिणामको सुन चोरीको घटनामा संलग्नलाई समेत सीसी क्यामेराको सहायतामा पक्राउ गरिएको थियो । भारतीय सवारी लिएर आएका व्यक्तिले बिर्तामोडमा एक घरबाट ठुलो परिणाममा सुन चोरी गरेर सैलुनमा दारी काट्दै गर्दा समातिएका थिए । डिएसपी कुँवर भन्छन्, ‘दिउँसो असाध्यै प्रभावकारी छ । तर, नाइटभिजन भए पनि वत्ती नहुँदा काम गरेको छैन ।’
सीसी क्यामेरा भएका कारण अन्य समस्या भएका व्यक्तिहरु पनि इप्रकामा सहयोग लिन पुगिरहेका हुन्छन् । बुधबार तरहराबाट बिर्तामोड आउने एक व्यक्तिको व्याग दुर्गापुरमै साटिएको थियो । व्याग साटिएपछि व्याग लिएर जाने व्यक्तिको पहिचानका लागि व्यागधनी इप्रका पुगेका थिए ।







प्रतिक्रिया