Banner news

भीआइपीमय झापा : मुख्यमन्त्रीदेखि सभामुखसम्म झापाली

भीआइपीमय झापा : मुख्यमन्त्रीदेखि सभामुखसम्म झापाली


बिर्तामोड । झापाबाट निर्वाचित प्रतिनिधिहरु अहिले धमाधम विशिष्ट जिम्मेवारी ग्रहण गरिरहेका छन् । झापाबाटै निर्वाचित प्रतिनिधिहरुले मुख्यमन्त्रीदेखि सभामुखसम्मको जिम्मेवारी पाएका छन् । अर्थात, झापालाई यो वर्षको निर्वाचनले मज्जैसँग फापेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुखमा झापाकी इन्दिरा राना मगरलाई उम्मेदवार बनाएको छ । सत्तारुढ गठबन्धनमा रहेको रास्वपाले उम्मेदरवार बनाएको सांसद मगर झापा अर्जुनधारा निवासी हुन् । उनी उपसभामुखमा निर्वाचित हुने पक्कापक्की छ । उनी समानुपातिक सांसद हुन् । उपसभामुखको निर्वाचन आज हुदैछ ।

शुक्रवार मात्रै झापा–२ बाट निर्वाचित देवराज घिमिरेले प्रतिनिधिसभाको सभामुख पदमा सपथग्रहण गरेका छन् । उनलाई प्रतिनिधिसभाले बिहीवार सभामुखमा निर्वाचित गरेको थियो । घिमिरे पनि झापा अर्जुनधारा निवासी हुन् । उपसभामुखमा मगर निर्वाचित भएपछि सभामुख र उपसभामुख एउटै नगरका हुनेछन् । मंसिर ४ को निर्वाचनमा घिमिरेले स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपाललाई पराजित गरेका थिए ।

निर्वाचनपछि झापाका मतदाताले अनपेक्षित रुपमा भिआइपीहरु पाएका छन् । झापा ३ बाट निर्वाचित राजेन्द्र लिङदेनले सरकारको उपप्रधान तथा उर्जा मन्त्रीको जिम्मेवारी पाए । लिङ्देनले नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई पराजित गर्दै दोस्रो पटक प्रतिनिधिसभाको यात्रा तय गरेका थिए ।

यस्तै झापा क्षेत्र नं.५ बाट प्रदेशसभामा निर्वाचित हिक्मत कुमार कार्की मुख्यमन्त्री बनेका छन् । कार्की यसअघि पनि प्रदेशको आन्तरिक मामिला मन्त्री थिए । उनी झापा ५ को प्रदेश निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित भएका हुन् । कार्कीले नेपाली कांग्रेस लगायतको पाँच दलीय गठबन्धनबाट उम्मेदवार बनेका गगन पुरीलाई पराजित गरेका थिए ।
प्रदेशको उधोग मन्त्रीको रुपमा झापा ४ ‘२’ बाट प्रदेशमा निर्वाचित भक्ति सिटौला नियुक्त भइसकेका छन् । उनी राप्रपाका केन्द्रीय प्रवक्ता हुन् । उनले नेपाली कांग्रेसका उम्मेदवार एकराज उपे्रतीलाई पराजित गर्दै पहिलो पटक सांसद बनेका हुन् ।

यसैगरी नेपाली कांग्रेसले झापाकै उद्वव थापालाई प्रदेश १ को संसदीय दलको नेता बनाएको छ । थापा खस आर्य कोटाबाट समानुपातिक सांसद बनेका हुन् । निर्वाचनताका गठबन्धनमा फेरबदल नभएको भए थापा मुख्यमन्त्री बन्ने थिए ।

सत्तारुढ गठबन्धनको नेता एमालेका अध्यक्ष केपी शर्मा ओली ‘वेटिङ प्राइमिनिस्टर’ हुन् । उनी झापा –५ बाट निर्वाचित सांसद हुन् । उनले नेपाली कांग्रेसका उम्मेदवार खगेन्द्र अधिकारीलाई भारी मतान्तरले पराजित गरेका थिए । यस्तै, दमकका नेता देवेन्द्र दाहाल अहिले राष्ट्रिय सभामा एमालेको दलको नेता छन् ।

शेयर गर्नुहोस :

0
Shares