Banner news

सीमामा थप कडाई गर्ने झापाका नयाँ सिडिओको प्रतिवद्धता

सीमामा थप कडाई गर्ने झापाका नयाँ सिडिओको प्रतिवद्धता


भद्रपुर । झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले प्रशासन कार्यालयको सेवालाई थप सहज र सरल बनाइने बताएका छन् । सोमवार झापाली पत्रकारहरुसँग आयोजित परिचयात्मक कार्यक्रममा बोल्दै उनले सेवाग्राहीलाई सरकारी सेवा लिन कुनै झण्झट नहुने वातावरण बनाउने बताए ।

उनले सीमा सुरक्षालाई थप कडाई गर्दै चोरी तस्करी नियन्त्रण गर्ने बताएका छन् । भर्खरै झापाको प्रमुख जिल्ला अधिकारीका रुपमा आएका पोखरेलले सबै क्षेत्रसँग प्रभावकारी तालमेल गरेर अघि बढ्ने बताए ।

प्रजिअ पोखरेलले जिल्लामा हुने अपराधजन्य गतिविधिलाई नियन्त्रण गर्न सीमा नाकामा कडाई र सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाइने बताएका हुन् । उनले लागू औषध नियन्त्रणसंगै अपराधजन्य गतिविधिलाई निस्तेज पार्ने सुरक्षा योजना तयार गर्दै अघि बढ्ने बताएका छन् ।

सरकारी सेवामा पूर्वमा पाँचथरदेखि पश्चिममा बैतडीसम्म काम गरेका प्रजिअ पोखरेलले बजार अनुगमनलाई समेत प्रभावकारी बनाउने बताएका छन् । उनले आम उपभोक्ताको अधिकारलाई ख्याल गर्दै बजार अनुगमनलाई प्रभावकारी बनाइने बताए ।

परिचयात्मक कार्यक्रममा पत्रकार मोहनकाजी न्यौपाने, इन्द्रजीत मुखिया, गणेश मुखिया, प्रदीप परियार, अर्जुन राजवंशी, रमेश तिवारी, लीलाराज झापाली लगायतले जिल्लाको समस्याबारे धारणा राखेका थिए ।

जिल्लामा रहेका सबै राजनीतिक दल, नागरिक समाजका अगुवा, सञ्चारकर्मी सहित आम झापावासीको साथ र सहयोगमा जिल्लालाई भयरहित र सुरक्षित बनाउन आफू लागि पर्ने बताए ।

पत्रकार भेटघाटमा सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपाल, रुद्र प्रसाद न्यौपाने, शसस्त्र प्रहरीउपरीक्षक देवराज अर्याल लगायतको सहभागीता रहेको थियो ।

शेयर गर्नुहोस :

0
Shares