Banner news

कानून नै बनाएर सञ्चार प्रतिष्ठान व्यूत्याईन्छ : मुख्यमन्त्री कार्की

कानून नै बनाएर सञ्चार प्रतिष्ठान व्यूत्याईन्छ : मुख्यमन्त्री कार्की


बिर्तामोड । प्रदेश नं. १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सहमतिबाटै प्रदेशको नामाकरण गरिने बताएका छन् ।
झापाको विर्तामोडमा आज प्रेस चौतारीले आयोजना गरेको पत्रकार अभिनन्दन तथा सम्मान कार्यक्रममा बोल्दै उनले संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरुको सहमतिबाट नामाकरण गर्ने आफ्नो योजना रहेको बताए ।
‘अनुकूल समयमा सकभर छिट्टै प्रदेशको नामाकरण गर्छौं’ उनले भने, – ‘सहमति जुटेन भने बहुमतबाट भए पनि नामाकरण चाहिँ गर्नेछौं ।’

प्रदेश नं. १ बाहेक छ वटै प्रदेशको नामाकरण भइसकेको छ । राजनीतिक दलहरुबीच सहमति बन्न नसक्दा प्रदेश नं. १ को नामाकरण बाँकी रहेको हो ।

यसअघि प्रदेश नं. १ को नामाकरण प्रयासमा आफ्नो दल सहयोगी बन्न खोज्दा पनि सफल नबनेको दावी गर्दै नेकपा एमाले स्थायी कमिटीका सदस्य समेत रहेका मुख्यमन्त्री कार्कीले भने, ‘हाम्रा कारणले नामाकरण रोकिएको होइन ।’
उनले प्रदेश नं. १ मा पुरानो सञ्चार प्रतिष्ठान व्युँताउने जानकारी दिए । मुख्यमन्त्री कार्कीले प्रदेशको पहिलो सरकारका बेला आन्तरिक मामिला, कानून तथा सञ्चार मन्त्री थिए । त्यसबेला आफुले नै सञ्चार प्रतिष्ठान गठन गरेको प्रसंग जोड्दै उनले अब कानून नै बनाएर प्रतिष्ठानलाई अघि बढाउने बताए ।

पत्रकार उपचार कोष सञ्चालन र पेशागत सुरक्षाका लागि प्रदेश सरकारले के कस्तो सहयोग गर्नुपर्छ भनेर चाँडै नै नेपाल पत्रकार महासंघ, प्रेस काउन्सिल र पत्रकारहरुको संघ संगठनहरुसँग परामर्श गर्ने उनले प्रतिबद्धता व्यक्त गरेका छन् ।

शेयर गर्नुहोस :

0
Shares