Banner news

मन्त्रीहरुको एकै स्वर : ‘सहाराको कामबाट प्रभावित छौं’

मन्त्रीहरुको एकै स्वर : ‘सहाराको कामबाट प्रभावित छौं’


बिर्तामोड । स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले सहारा नेपालले सामाजिक रुपमा गर्दै आएको काम राष्ट्रकै लागि गौरवपूर्ण भएको बताएका छन् ।

सहारा नेपालले सोमवार झापाको कनकाईस्थित जामुनखाडीमा आयोजना गरेको दशौं विस्तारित भेलालाई सम्बोधन गर्दै मन्त्री गिरीले सहकारीको माध्यमबाट सहाराले प्रभावकारी रुपमा सामाजिक उत्तरदायित्वको काम गरिरहेको बताए । सहकारीहरु सदस्यको आत्मविश्वासले मात्रै प्रगतिको बाटो जाने उनको भनाई थियो । उनले शिक्षा, स्वास्थ्य र रोजगारको क्षेत्रमा सहाराले गरिरहेको कामबाट आफु प्रभावित भएको धारणा राखेका छन् । राज्यले कतिपय अवस्थामा सहजै गर्न नसकेका कामहरु सहाराले गरिरहेको भन्दै उनले थप प्रगतिको कामना गरे ।

दशौं विस्तारित भेलालाई सम्बोधन गर्ने क्रममा स्वास्थ्य मन्त्री गिरीले नयाँ सरकार आम नागरिकले स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सेवा महसुस गर्ने गरी काममा लागेको बताए । ‘स्वास्थ्य क्षेत्रमा व्यापक समस्याहरु छन्, त्यसको सुधारमा सरकार सक्रिय छ’, मन्त्री भन्छन्, – गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने सवालमा प्रतिवद्ध छौं ।

मन्त्री गिरीले स्वास्थ्य वीमा कार्यक्रमको आवश्यक व्यवस्थापनलाई पनि प्राथमिकतमा राखेको बताएका छन् । घण्टौं लाइनमा बस्नुपर्ने बाध्यता, गुणस्तरहीन स्वास्थ्य सेवाको अन्त्य गरेर स्वास्थ्य सेवालाई चुस्त बनाउने उनको प्रतिवद्धता थियो । जनताले शिक्षा, स्वास्थ्य र रोजगारी नपाएसम्म परिवर्तनको महसुस गर्न नसक्ने उनको भनाई थियो ।

सहकारीको नेतृत्वदायी संस्था : मन्त्री सिटौला
प्रदेश १ का कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाले सहारा नेपालको कामले राष्ट्रिय पहिचान बनाएको बताएका छन् । समग्र आर्थिक क्षेत्र समस्यामा हुँदा पनि सहाराले वित्तीय कारोवारसँगै सामाजिक योगदान गरिरहेको उनको भनाई छ ।

दशौं विस्तारित भेलालाई सम्बोधन गर्दै मुलुकमै सहारा नेतृत्वदायी संस्थाको रुपमा स्थापित भएको बताए । सहाराले पनि आफ्नो सुरक्षाका लागि आवश्यक छलफल, समीक्षा गर्न आवश्यक रहेको मन्त्री सिटौलाको भनाई छ । उनले आर्थिक क्षेत्रमा धेरै जोखिम पनि हुने भएकाले आवश्यक सुरक्षाका लागि समीक्षा जरुरी रहेको बताए । उनले सहारासँग हातेमालो गर्दै अघि बढ्ने धारणा राखेका छन् ।

मन्त्री बनेपछि उनले सहकारी संस्थाहरुको बारेमा थप जानकारी लिएको बताएका छन् । उनले प्रदेशका सहकारी संस्थाहरुको नियमन र अनुगमन आवश्यक देखिएको बताए । मन्त्री सिटौलाले भने, कतिपय सहकारीका कारण वेतिथी समेत बढिरहेको छ । परिवारभित्रबाटै सञ्चालित सहकारीहरुका कारण ठुलो शोषण समेत भइरहेको पाएको छु । उनले परिवारको नीजि फाइदाका लागि सहकारीहरु स्थापना गरेको पनि भेटेको मन्त्री सिटौला बताउँछन् ।
प्रदेशमा रहेका अधिकांश सहकारीहरुको नियमनका लागि प्रदेश सरकार छुट्टै योजनाका साथ क्रियाशिल हुने बताए ।
सोही कार्यक्रममा सहारा नेपालले स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरी र प्रदेश १ का कृषि तथा सहकारी मन्त्री भक्ति सिटौलालाई सम्मान गरेको छ ।

कनकाई स्थित जामुनखाडीमा आयोजित विस्तारित भेलामा सहाराका अध्यक्ष हरि राजबंशी र कार्यकारी प्रमुख महेन्द्र गिरीले कार्यकाल सफलताको शुभकामना सहित सम्मान गरेका हुन् ।
कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका सल्लाहकार मिनराज कडेलले सहकारी संस्थाहरुले समाजमा सकारात्मक अभियानको नेतृत्व गर्नुपर्ने बताएका छन् । उनले दीगो विकासको लक्ष्य पुरा गर्ने सन्दर्भमा सहकारीको भूमिका प्रभावकारी हुने बताए । कडेलले सहारा पुँजी, सदस्य संख्या र सामाजिक उत्तरदायित्वका हिसावले देशकै ठुलो उत्कृष्ट संस्था रहेको बताए ।

यस्तै, महासंघका उपाध्यक्ष रमेश पोखरेलले देशभर २ सय राम्रा सहकारी भए जनताको जिम्मा लिन सक्ने बताए । उनले सहकारी संस्थाहरुले शिक्षा, स्वास्थ्य र रोजगारको क्षेत्रमा ठुलो योगदान गरिहरेको भन्दै सरकारभन्दा सहकारी जनताप्रति उत्तरदायी भएको बताए । उपाध्यक्ष कडेलले अस्वस्थ्य प्रतिष्पर्धाका कारण सहकारी क्षेत्रमा वेथिती बढ्दै गएको बताएका छन् । युवाहरु सबै विदेश लाग्दैछन्, देश वृद्धाश्रम जस्तो भइसक्यो, उनले थपे – समाजवाद ल्याउने हो भने देशमै रोजगार दिने वातावरण बनाऔं ।

सहकारीका लागि ४७ कानुन प्रतिकुल भएको उनको धारणा थियो । उपाध्यक्ष कडेलका अनुसार बचत तथा ऋण सहकारीमा धेरै समस्या देखिएको बताए । उनले नियामक निकायको अभावले बढ्दै गएको वेथिती नियन्त्रणको आवश्यकता भएको उनको भनाई छ ।

नीजि क्षेत्रका नाममा ठुलो पुँजी केही घरानाको हातमा पुगेको उनको आरोप छ । नीजि क्षेत्रले उत्पादन गरेको छैन, रोजगार पनि दिएको छैन, उनले भने – दलहरु सहकारीप्रति सकारात्मक हुने हो भने संमृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा हुने छ ।

दोस्रो चरणको कार्यक्रममा संस्थाको आगामी कार्यदिशाका बारेमा छलफल भएको थियो । अबको १० वषर्मा संस्थाले गर्ने कार्यक्रमको योजनाका बारेमा सदस्यहरुबाट सूझाव संकलनको काम भएको कार्यकारी प्रमुख महेन्द्र गिरीले जानकारी दिए ।

शेयर गर्नुहोस :

0
Shares