बिर्तामोड । मुलुककै प्रभावशाली विद्यार्थी संगठन अनेरास्ववियु २३ औं राष्ट्रिय महाधिवेशनको अन्तिम तयारीमा छ । अनेरास्ववियुको फागुन २,३,४ गते काठमाडौंमा महाधिवेशन हुन गइरहेको छ । महाधिवेशनले अनुरास्ववियुको नयाँ नेतृत्व चयन गर्नेछ ।
०७२ सालमा २२ औं महाधिवेशन गरेको अनेरास्ववियु त्यसपछि पुनर्गठनको भरमा चल्दै आएको थियो । नेकपा एमालेले महाधिवेशन नभएका भातृ संगठनलाई चैत मसान्तभित्र सम्पन्न गर्न निर्देशन गरेको थियो । सोही निर्देशन अनुसार अनेरास्ववियुले भव्य रुपमा महाधिवेशनको तयारी गरेको छ । जिल्ला–जिल्लाबाट प्रतिनिधि छनौटको काम सकिएको छ भने प्रतिनिधिहरु काठमाडौं तर्फ प्रस्थानको तयारीमा लागेका छन् ।

संगठनको केन्द्रीय अध्यक्ष सुनिता बरालको गृह जिल्ला झापामा महाधिवेशनको राम्रै तामझाम छ । जिल्लाका विद्यार्थी नेताहरु अनेरास्ववियुको महाधिवेशन तयारीमा भव्यताका साथ लागेका छन् । जिल्ला अध्यक्ष रोशन लामाले संगठनको महाधिवेशन विद्यार्थीका लागि महान पर्व जस्तै हुने प्रतिक्रिया दिए । उनले महाधिवेशनबाट संगठनले कुशल नेतृत्व चयन गर्ने विश्वास गरेका छन् ।
यसै जिल्लाका विद्यार्थी नेता मनोज ताम्लीले संगठनको केन्द्रीय सचिवमा उम्मेदवारी दिने तयारी गरेका छन् । विद्यार्थी आन्दोलनमा एक दशक लामो क्रियाशिलतापछि ताम्लीले सचिवको दावी गर्ने तयारीमा देखिएका छन् ।
अनेरास्ववियुको क्याम्पस कमिटी, भूगोल क्षेत्रीय कमिटीको अध्यक्ष, जिल्लाको सहसचिव, झापा जिल्ला कमिटीको अध्यक्ष , केन्द्रीय सदस्य, प्रदेश कमिटी सचिव हुँदै अहिले केन्द्रीय सचिवालयको जिम्मेवारीमा रहेका ताम्लीले आफुलाई आसन्न महाधिवेशनमा सचिवको उम्मेदवारका रुपमा प्रस्तुत गर्दैछन् ।
विद्यार्थी आन्दोलनमा प्रभावशाली नेताको छवि बनाएका ताम्लीले राजनीतिशास्त्रमा स्नाकोत्तर गरेका छन् । हाल अर्थशास्त्रमा स्नातकोत्तर गरिरहेका ताम्लीले आम विद्यार्थीहरुको चहाना बमोजिम नै सचिवको उम्मेदवारी दिने तयारीमा लागेको बताएका छन् । मेची क्याम्पसको स्ववियु सभापतिको उम्मेवार बनिसकेका ताम्ली प्रदेशका नं १ बाट सचिव पदमा एक्लो उम्मेदवार बन्ने सम्भावना बुझिएको छ ।







प्रतिक्रिया