Banner news

सफल बन्दैछ बिर्तामोडको लघुउद्यम विकास कार्यक्रम

सफल बन्दैछ बिर्तामोडको लघुउद्यम विकास कार्यक्रम


बिर्तामोड सेरोफेरो

झापाको बिर्तामोड नगरपालिकाले सीप सिकाउदै व्यवसायी बनाउन हरेक वर्ष झै यो वर्ष पनि कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । विगत वर्षहरुमा सीप विकास गरेर उद्यमी बनाएको पर्याप्त उदाहरणहरु पेश गर्न सफल बिर्तामोड नगरपालिकाको लघुउद्यम विकास शाखा चालु आर्थिक वर्ष २०८०-८१ मा पनि सक्रिय रुपमा उद्यमी बनाउन कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

बिर्तामोड नगरपालिका र संघीय ससर्त बजेटबाट सञ्चालन हुने कार्यक्रमको मुख्य उद्देश्य भनेको विपन्न वर्गलाई समूह–समूहमा राखेर सीप सिकाउने र उद्यमी बनाउने हो । गरिवीको रेखामुनी रहेको विपन्न वर्गलाई व्यवसायी बनाउने मुख्य लक्ष्य रहेको छ । यदि व्यवसायी बनाउन नसके स्वरोजगार बनाउने कार्यक्रमको योजना हो ।

बिर्तामोड नगरपालिकाले चालु आर्थिक वर्षमा ८५ जनालाई सीप सिकाउने लक्ष्य राखेको वरिष्ठ उद्यम विकास सहजकर्ता चनिमाया तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले बिर्तामोडको वडा नं। १, ३,४ र ७ का महिलाहरुलाई लक्षित गरेर सीप सिकाउने काम भइरहेको छ ।

बिर्तामोड नगरपालिकाले यहाँका महिलाहरुलाई गुडिया बनाउने तालिम दिइरहेको छ । वडा नं। १ मा २० दिनसम्म चल्ने तालिममा १३ जनाको सहभागिता छ । बिर्तामोड वडा नं।३ मा पनि २० दिने गुडिया बनाउने तालिममा ९ जनाले प्रशिक्षण लिइरहेका छन् । यस्तै, वडा नं।७ मा बाख्रा पालन सम्बन्धी तालिम पनि सञ्चालन भइरहेको छ । बाख्रा पालन तालिममा ९ जना किसानको सहभागिता रहेको तामाङले जानकारी दिनुभयो ।

बिर्तामोड ५ मा वडा नं। १ र ७ का युवा महिलाहरुको सहभागितामा ढाका बुन्ने तालिम चलिरहेको छ । ढाका बुन्ने तालिममा ७ जनाको सहभागिता छ । वडा नं। ५ मै सिलाई बुनाईको तालिम पनि चलिरहेको छ । सिलाई बुनाईमा ६ जनाले २ महिनाको प्रशिक्षण पाउने छन् । तालिमबाट आधारभूत सीप प्राप्त हुने छ । उक्त तालिम लिएर घरमै काम गर्न वा व्यवसाय नै सञ्चालन गर्न पनि सकिने छ । त्यसका लागि नगरपालिकाले लागत साझेदारीमा मेसिन समेत उलब्ध गराउने छ । त्यस्तै, बिर्तामोड नगरपालिकाले ढाका बुन्न सिकिरहेका प्रशिक्षार्थीहरुलाई पनि लागत साझेदारीमा ढाका बुन्ने तान उपलब्ध गराउने योजना बनाएको छ ।

गरिवी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम सञ्चालन गरिरहेको नगरपालिकाले व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीलाई नै प्रशिक्षक बनाएको छ । स्थानीय स्तरमा गुडिया बनाउन सिकाउने, व्यवसाय गर्ने व्यक्तिलाई नै प्रशिक्षक बनाइएको छ । बिर्तामोड १ मा सञ्चालनमा रहेको तालिममा मेनुका राईले प्रशिक्षण प्रदान गरिरहनु भएको छ । उहाँका अनुसार सीप सिकेर व्यवसाय सञ्चालन गर्न सकिन्छ । बजारमा गुडियाको राम्रो माग भएकाले सामान्य भन्दा सामान्य गुडिया बनाउदा पनि दैनिक १ हजार रुपैयाँ देखि २ हजारसम्म आम्दानी गर्न सकिन्छ । घरमा गृहिणीको जिम्मेवारीमा रहने महिलाहरुका लागि उपयुक्त काम नै गुडिया बनाउने भएको प्रशिक्षक मेनुका राईको भनाई छ ।

गुडिया बनाउन तालिम लिइरहनु भएकी प्रशिक्षार्थी भूमिका राईले आफूले चाहे जस्तो तालिम पाइरहेको बताउनुभयो । घरको सबै काम सकेर गर्न मिल्ने काम रहेछ, गुडिया बनाउने काम । घरमै बसेर पनि गर्न सकिने काम सिकाउन बिर्तामोड नगरपालिकाले सहयोग गरेकोमा धन्यवाद दिनुभयो । महिलाहरुका लागि नगरपालिकाले घर छोडेर होइन, घरमै बसेर पनि सञ्चालन गर्न सकिने व्यवसायमा सहयोग पुग्ने तालिम प्रदान गरेर सहयोग गरेको उहाँको भनाई छ ।

महिलाहरुका लागि लघुउद्यम विकास शाखाले सीप सिकेर बजारमा भव्य व्यवसाय गरे पनि हुने, घरमै समयको सदुपयोग गर्दै घर खर्च धान्न घरैमा काम गरे पनि हुने गरिको सीप सिकाइरहेको छ । जस्तै, बिर्तामोड नगरपालिकाले ब्यूटीपार्लर सम्बन्धी तालिम सञ्चालन गरिरहेको छ । ब्यूटीपार्लर सिक्ने महिलालाई स्वदेश तथा विदेशमा धेरै अवसरहरु छन् । आफै ब्यूटी पार्लर खोलेर व्यवसाय गर्न सकिने । व्यवसाय नगरे अन्य ब्यूटी पार्लरमा काम गर्न सकिने । अथवा विदेश गएर पनि काम गर्न सकिने हुन्छ । नगरपालिकाले ब्यूटिसियनको सीप सिकाएका धेरै महिलाहरु रोजगारको शिलशिलामा देश बाहिर गएका छन् । जो, ब्यूटी पार्लरकै काम गरिरहेका छन् ।

उद्यम विकास अन्तर्गत महिलाहरुले अचार बनाउने सीप सिकेर उत्पादन नै गरिरहनु भएको छ । फोटो फ्रेमिङदेखि धुप बनाउने काम समेत नगरभित्र सिकाइएको छ ।

शेयर गर्नुहोस :

0
Shares