Banner news

‘बिर्तामोडलाई पुग्ने तरकारी फलाउन सक्षम छौ’

‘बिर्तामोडलाई पुग्ने तरकारी फलाउन सक्षम छौ’


प्रदिप खनाल, सफल किसान
झापा बिर्तामोड–७ का प्रदिप खनाल दुई वर्ष वैदेशिक रोजगारीका क्रममा दुवई बसेर फर्किएपछि युवा हुन् । अहिले उनको दिनचर्या कृषि पेशामा वितिरहेको छ । दुवईमा दुई वर्ष दुःख गरेर फर्किएका खनाल आफ्नै गाउँ फर्किएर कृषि क्षेत्रमा उदाहरणीय पहिचान बनाउन सफल भएका छन् ।

बिर्तामोड–७ मा हाम्रो कृषि फर्म सञ्चालन गरिरहेका उनी झापा जिल्लाको उत्कृष्ट कृषकमध्येका एक हुन् । ६ वर्षदेखि निरन्तर कृषिमा लागेका खनाल कृषि मै केहि गरेर देखाउन चाहिरहेका छन् । खासगरी तरकारी बालीमा आकर्षित भएका उनको धेरै क्षेत्रफलमा अहिले पनि तरकारी बाली छ । जता फर्के पनि सागसब्जी फलेको देखिने उनको फर्ममा १५ वटा परिवार पूर्ण रुपमा रोजगारी पाइरहेका छन् । खनालको कृषि फर्ममा काम गरेर परिवार धान्नेको संख्या ठुलै भेटियो ।
सिजन बाहेक १८-२० जनाले दैनिक काम पाइरहेका छन् भने सिजनको बेला ४० जना भन्दा धेरैले रोजगार पाउने उनको भनाई छ ।

खनालको कृषि फर्ममा अहिले काक्रा, खोर्सानी, भेडे खोर्सानी,स्क्वास फर्सी, लोकल फर्सी, मुन्टा, लौका, बैगुन, बोडी र टमाटर फलिरहेको छ । दैनिक ४० हजार बराबरको तरकारी विक्री गर्दै आएका खनाल मासिक १२ लाखसम्म आम्दानी गरिरहेका छन् ।

बिर्तामोड नगरपालिकाबाट निशुल्क प्राविधिक सहयोग पाइरहेको बताउने उनले प्रविधिमा किसानले ५० प्रतिशत अनुदान पाइरहेको बताउँछन् । गत वर्षहरुमा प्रविधिहरु पनि निशुल्क थियो, अत्याधिक उपयोग नभएको पाएपछि किसानकै प्रस्तावमा ५० प्रतिशत लागत सहभागिता गरिएको हो । नगरपालिकाले टनेल, मन्चिङ, वीउविजन, मिनी टेलर, गोढ्ने काटा, हलो, अर्वना लगायतका सामग्रीहरुमा सहयोग गरिरहेको छ । धेरै जसो सहयोगमा किसान र नगरापालिकाबीच ५०-५० प्रतिशत साझेदारी रहेको छ ।

आलु र प्याज बाहेकका तरकारीजन्य कृषि वस्तुमा बिर्तामोड नगरपालिकाले उपलब्धी हासिल गरिरहेको खनालको भनाई छ । ५÷७ वर्षअघिसम्म भारतीय तरकारीमा परनिर्भर बन्नु परेको थियो । अहिले स्थानीय उत्पादनले ५० प्रतिशत आयात नै घटाएको छ । नगरमा खपत हुने तरकारीजन्य वस्तुको ५० प्रतिशत माग धानिरहेको छ । स्थानीय उत्पादनमा विषादीको मात्रा पनि ८० प्रतिशतले न्यूनिकरण भइसकेको छ, उनले भने ।

१८ विगाह क्षेत्रफलमा तरकारी जन्य कृषिवस्तु उत्पादन गरिरहेको हाम्रो कृषि फर्मले विषादी न्यूनिकरणका लागि बाछी पालन गरिरहेको छ । मलका लागि बाछी खरिद गरेर पालिरहेका छौं, उनले भने – बाछीले बच्चा जन्माएपछि विक्री गरिदिन्छौं । त्यसले मलमा र आर्थिक रुपमा दुई फाईदा हुने गरेको छ ।

स्थानीय किसानलाई सबैभन्दा ठुलो समस्या बजारको भइरहेको यहाँका किसानहरु बताउँछन् । हाम्रो फर्मका सञ्चालक खनाल भन्छन्, व्यापारीलाई दियो भने लगानी पनि उठाउन कठिन छ । आफै व्यापार गरौं भन्दा बजारको समस्या छ । केहि समयदेखि बजारमा व्यापारीहरुदेखि लुकिछीपी व्यापार गरिहेको सुनाए । उनका अनुसार एकदेखि डेढ महिनाभित्र कृषिथोकभित्र कृषकले पनि सहजै आफ्नो उत्पादन विक्री गर्न सक्नेछन् ।

युवा किसान खनालले आलु उत्पादन गरे पनि बजारमा विक्रीका लागि नलगेको जानकारी दिए । वीउ आलुको रुपमा उत्पादन गरिरहेका उनीहरुले केही वर्षयता जिल्लाका चार वटा पालिकालाई वीउको रुपमा विक्री गरिरहेका छन् । हल्दिवारी, कनकाई, बिर्तामोड र अर्जुनधारामा फर्मले वीउ आलु उपलब्ध गराइरहेको छ ।

कृषि पेशामा अनुभव लिइरहेका उनले विदेशको दुखभन्दा स्वदेशमै गरेको कृषि सुखद भएको प्रतिक्रिया दिएका छन् । उनले भने, पहिले ऋणमा थिए, कृषिमा लागेपछि धनमा छु । कृषिमै लागेर आर्थिक उन्नति गरेको सुनाउने उनले घर जग्गा खरिद गरेको बताए ।

अनुदानले किसान र कृषि क्षेत्र विग्रिएको बताउने खनालले स्थानीय सरकारबाट उन्नत वीउको उपलब्धता र विद्युतमा थप सहजीकरण गर्नुपर्ने बताए । बिर्तामोड मात्र होइन, पूर्वमा राम्रो किसानको रुपमा स्थापित खनालले केहि वर्षमा बिर्तामोडले बाहिरको तरकारी आयात गर्नु नपर्ने दावी गरेका छन् ।

बिर्तामोड नगरपालिकाको मेयर विषादी कार्यक्रममा सहभागी भएपछि कृषि पेशामा आकर्षित भएका उनी त्यसअघि ट्याक्टर व्यवसाय गर्थे । नगरपालिकाको कृषि शाखाले जस्तोसुकै समस्यामा पनि सहभागी भएर प्राविधिक सहयोग उपलब्ध गराइरहेको छ । तरकारी उत्पादनसँगै ज्ञान केन्द्रको सहयोगमा वीऊ उत्पादनको कामलाई पनि अघि बढाएको जानकारी दिए ।

शेयर गर्नुहोस :

0
Shares