Banner news

खेलकुद संरचनामा करोडौं लगानी : गमस्तामा फुटसलदेखि स्विमिङसम्म

खेलकुद संरचनामा करोडौं लगानी : गमस्तामा फुटसलदेखि स्विमिङसम्म


बिर्तामोड । शहरीकरणसँगै बिर्तामोड साँघुरिँदै गएको छ । बिर्तामोडका खाली जमिनहरु घर तथा व्यवसायिक प्रयोजन संरचनाहरुले भरिँदै गएका छन् । नियमित व्यायाम र खेल्न चाहनेका लागि खुला ठाउँको अभाव हुँदै गइरहेको छ ।

यही समस्यालाई मध्यनजर गर्दै बिर्तामोडसँगै जोडिएको अर्जुनधारा-६ स्थित गमस्ता स्पोर्टस् हवले करोडौं लगानी गरी खेल संरचनाहरु निर्माण गरिरहेको छ । नियमित व्यायाम गर्ने, विभिन्न खेलमा रुची राख्नेहरु सर्वसाधारणहरुका लागि गमस्ता स्पोर्टस हवले गत सातादेखि स्वीमिङ पुल पनि सञ्चालनमा ल्याएको छ ।

हबले फुटसल, स्वीमिङ पुल र फुटबलका लागि मैदान उपलब्ध गराइरहेको छ । सञ्चालक गमस्ता आचार्यका अनुसार अब सेभेन साइडको फुटसल, बास्केटबल, क्रिकेट ग्राउण्ड र पार्टी प्यालेस निर्माणको तयारी गरिएको छ । अढाई बिगाह क्षेत्रफलमा निर्माण भइरहेको खेलकुद संरचनाले नियमित व्यायाम गर्नेहरुलाई ठुलो राहत मिलेको छ ।

युवाहरु यस प्रकारको खेल क्षेत्र नहुँदा मोबाइल हेर्ने, पब्जी खेल्ने, गलत बाटोमा लाग्न सक्ने समेत जोखिम बढेर गएको छ । त्यसैले युवा उमेर समूह भौतिक रुपमा उपस्थित भएरै खेल्न मिल्ने पूर्वाधार तयार गरिएको उनले बताए । आफूहरुले व्यवसायसँगै स्वास्थ्यका लागि खेल क्षेत्र रोजेका सञ्चालकको धारणा छ ।

हबले भर्खरै १५० जना क्षमताको स्वीमिङ पुल निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको छ । आचार्यका अनुसार बालबालिकाहरुका लागि अलग्गै ठाउँको व्यवस्था गरिएको छ । बालबालिकाहरुका लागि साढे दुई फिट र ठुलाहरुका लागि ४ देखि ७ फिटसम्म गहिराईको स्वीमिङ पुल रहेको छ ।

‘गर्मी हुने बित्तिकै खोला कुद्ने, पैसा तिर्दा पनि राम्रो ठाउँमा स्वीमिङ गर्न नपाइरहेको अवस्था थियो’, उनले थपे, ‘खेल क्षेत्रमा संरचना अभाव देखेरै जोखिम मोलेर ठुलो लगानी गरेका छौं ।’ युवाहरुको आकर्षण खेल क्षेत्र र स्वीमिङमा पाएपछि व्यावसायिक रुपमै अघि बढेको उनको भनाइ छ । स्वीमिङमा ३ करोड र फुटसलमा डेढ करोड लगानी भइसकेको उनले बताए ।

साझेदारीमा सञ्चालन गरिएको गमस्ता स्पोर्टस्का एक सञ्चालक आचार्य भन्छन्- ‘खेल्ने ठाउँ छैन, शहरीकरणले ढाक्यो । चौरी, मैदानहरु छैन । पहिले खेतहरु खाली थिए । अहिले सबै भिटामा परिणत भए । खाली जग्गाहरु बेच्दै बैंकमा पैसा राख्ने चलन सुरु भएपछि खेलप्रेमीलाई परेको समस्या हामीले महसुस र्गयौँ । कसैले यतातिर नसोचेपछि हामीले निर्माण थालेका हौं ।’

हवले यसअघि नै फुटसल निर्माण गरेर सञ्चालनमा ल्याइसकेको छ । बिर्तामोडकै सुविधा सम्पन्न फुटसल दाबी गर्दै आचायले भने, ‘यहाँ दिनभरिमा १५ सेटसम्मले खेलेका छन्, खाली नै हँुदैन’, उनले भने, ‘कहिलकाहीँ राति १२ बजेसम्म खेलिरहेका हुन्छन् ।’

गमस्ता स्पोर्टस् हवका कर्मचारी आकाश खवासले स्वीमिङ पुलमा अत्याधुनिक प्रविधि जडान गरिएको जानकारी दिए । उनले पानीको गुणस्तर र सफाइमा हदैसम्म ख्याल गरिएको बताए । ठुलो स्वीमिङ संरचनामा ६ लाख लिटर पानी जम्मा हुने र दुई वटा मोटरले नियमित पिउरिफाई गरिरहने जानकारी दिए । पानीमा खेल्नेहरुको सुरक्षाका लागि निगरानी गर्न दुई जना कर्मचारी खटाइएको छ ।

शेयर गर्नुहोस :

0
Shares