Banner news

वडाध्यक्ष बुढाथोकीको दैनिकी : विहान भाषा कक्षा, दिनभर वडाबासीको सेवा

वडाध्यक्ष बुढाथोकीको दैनिकी : विहान भाषा कक्षा, दिनभर वडाबासीको सेवा


बिर्तामोड । अहिले सबैभन्दा अस्तव्यस्त दैनिकी छ भने, जनप्रतिनिधि र दलका नेताहरुको छ । जनताको काममा जतिसक्दो छिटो पुग्नुपर्ने, कुरा सुनिदिनु पर्ने र समस्याहरुको समाधान गरिदिनुपर्ने दायित्व पनि उनीहरु मै छ ।

स्थानीय तहमा निर्वाचित कतिपय जनप्रतिनिधिहरु अस्तव्यस्त दैनिकी र आर्थिक समस्याका कारण वैदेशिक रोजगारीमै गइरहेका छन् । कतिपय दलका क्रियाशिल नेता र जनप्रतिनिधिहरुले आफ्नो व्यवसायलाई ध्यान दिन नसक्दा अव्यवस्थित भइरहेको गुनासो सुन्न पाइन्छ । यसैबीचमा नेता र जनप्रतिनिधिहरुले समय व्यवस्थापन गरेर व्यवसाय सम्हालिरहेको केही उदाहरण पनि छन् ।

झापा बिर्तामोड नगरपालिका वडा नं. ३ का वडाध्यक्ष मदन बुढाथोकीको दैनिकी जापानिज भाषा बढाउदै सुरु हुन्छ । हरेक दिन विहान ३ घण्टा भाषा पढाएर उनी नगरवासीको सेवामा जाने गर्छन् ।

बिर्तामोडस्थित भद्रपुर रोडमा वडाध्यक्ष बुढाथोकीको भाषा पढाउने कन्सल्टेन्सी सञ्चालनमा छ । जनप्रतिनिधि हुनुभन्दा पहिलेदेखि सञ्चालनमा रहेको ओयसिस एजुकेशन फाउण्डेशनले जापानिज भाषा कक्षा सञ्चालन गर्दै आएको छ । सन् २०१४ मा जापानबाट फर्किएका बुढाथोकी निरन्तर भाषा पढाउदै आएका छन् । सन् २०१७ मा आफै कन्सल्टेन्सी सुरु गरेका वडाध्यक्ष बुढाथोकी जनप्रतिनिधि भएपछि केहि वर्ष पढाउने कामबाट विदा भएका थिए । जापानबाट फर्किएर वडाध्यक्ष बुढाथोकीले बिर्तामोडका केही कन्सल्टेन्सीमा भाषा पढाएका थिए ।

कर्मचारी राखेर भाषा कक्षा सञ्चालन गरेका वडाध्यक्ष बुढाथोकीले पछिल्लो वर्षहरुमा आफै कक्षा लिइरहेका छन् । विहान ७ बजेदेखि जापानिज भाषा पढाएर वडा कार्यालय जान्छु, उनले भने – विहानको समय व्यवस्थापन गरेर कक्षा लिने गरेको छु । बाँकी समय वडामा नागरिकहरुको सेवामा खर्चिन्छु । वडाध्यक्ष बुढाथोकीले आम्दानीको स्रोत नै आफ्नो व्यवसाय भएको बताउँछन् । विगतदेखि नै मुख्य व्यवसाय ओयसिस भएकाले त्यहाँ पनि समय दिनुपर्छ भन्ने ठानेको छु, उनले थपे – बाँकी समय वडावासीको सेवामा प्रतिवद्ध भएर लाग्ने गरेको छु ।

शेयर गर्नुहोस :

24k
Shares