मुख्य समाचार

खेलाडीको खेलक्षेत्रमा भविष्य सुरक्षित गर्नेतर्फ सरकारले ध्यान दिनुपर्छः राष्ट्रपति पौडेल

खेलाडीको खेलक्षेत्रमा भविष्य सुरक्षित गर्नेतर्फ सरकारले ध्यान दिनुपर्छः राष्ट्रपति पौडेल


काठमाडौँ, २१ साउनः राष्ट्रपति रामचन्द्र पौडेलले खेलाडीको भविष्य खेलक्षेत्रमा नै सुरक्षित गर्नेतर्फ सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ ।
भारतमा भएको म्याट्रिक्स फाइटर नाइट टाइटल विजेता रवीन्द्र ढाँटको सम्मानमा राष्ट्रपति भवन शीतल निवासमा आयोजित स्वागत कार्यक्रममा राष्ट्रपति पौडेलले देशलाई विश्वभर चिनाउने खेलाडी र खेलक्षेत्रको विकास तथा खेलाडीको सम्मान गर्न सरकारले योजना बनाएर प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “देश विदेशका प्रतियोगितामा प्रतिस्पर्धा र प्रशिक्षणको अवसरसँगै आवश्यक सुविधा दिएर खेलाडीको सम्मान गर्न सके मात्रै हाम्रा खेलाडीले कीर्तिमान र सफलता हासिल गर्न सक्दछन् ।” राष्ट्रपति पौडेलले व्यक्तिको शारीरिक, मानसिक र समग्र व्यक्तित्व विकासमा खेलको महत्त्व रहेको बताउँदै भन्नुभयो, “खेलक्षेत्रको विकासमा सरकार, खेलसँग सम्बन्धित सङ्घसंस्था र निकायले आगामी दिनमा अझै प्रभावकारी ढङ्गले काम गर्न क्रियाशील हुने विश्वास लिएको छु ।”
उहाँले बझाङको बाघ भनेर परिचित नेपाली एमएमए फाइटर ढाँटले आफ्नो खेल कौशल, सामथ्र्य, शक्ति र खेलप्रतिको निरन्तर समर्पणले यो उपाधि जित्न सफल हुनु नेपालीहरूका लागि गौरवको विषय भएको बताउनुभयो । राष्ट्रपति पौडेलले ढाँटको सफलताका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो ।

शेयर गर्नुहोस :

81
Shares