बिर्तामोड । बिर्तामोडमा रहेको कृषिथोक बजारमा आउने उपभोक्ताहरुले फोहोर र दुर्गन्धका कारण किनमेलमै समस्या हुने गरेको बताएका छन् । वर्खामा कृषिथोक बजारमा सरसफाई नपुगेको उपभोक्ताहरुको धारणा छ ।

कृषिथोक बजारमा मासिक ७० हजार रुपैयाँमा निराकार सरसफाई सेवा प्रालिले फोहोर उठाइरहेको छ । दैनिक १ ट्याक्टर फोहोर उत्पादन हुने गरेको बजारमा हप्तामा ४ पटक निराकारले फोहोर उठाउदै आएको कृषिथोक बजार व्यवस्थापन समितिका अध्यक्ष निरज ओलीले जानकारी दिए । उनका अनुसार शनिवार बाहेक अन्य दिनहरुमा कुहिने फोहोर कनकाई बिर्ता अर्जुन नविकरणीय उर्जा कम्पनीले लैजाने गरेको छ ।
मासिक रुपमा ७० हजार रुपैयाँमा फोहोर उठाउदै आएको निराकारले बजेट वृद्धिको लागि निवेदन समेत दिइसकेको छ । कुहिने फोहोर कनकाई र अन्य फोहोर निराकारले उठाउँदा पनि व्यवस्थित नभएको अध्यक्ष ओलीको भनाई छ ।

बुधबार कृषिथोक बजारमा भेटिएका उपभोक्ताहरुले दुर्गन्ध कम हुने गरी सरसफाई गर्न सूझाव दिएका छन् । बिर्तामोड – ३ का खड्ग बहादुर राजवंशीले बजारलाई सरसफाई गर्न आग्रह गरेका छन् । बजारमा सरसफाई कम भएको र खाल्डाखुल्डीहरु पुर्न सूझाव दिए । उनले उपभोक्ताहरुलाई स्वच्छ वातावरणमा किनमेल गर्ने वातावरण बनाइदिन माग गरेका छन् ।
चारपानेका राम बहादुर श्रेष्ठले बजारमा हिलाम्मे भएर किनमेल गर्नुपर्ने बाध्यता रहेको सुनाए । मान्छे हिढ्ने ठाउँ विजोग रहेको छ । श्रेष्ठले माथिल्लो बजार भत्काए पनि अहिलेसम्म नबनाएको भन्दै गुनासो पोखे ।
मजदुर अगुवा नन्दी चौधरीले बाटोमा जताततै फोहोर भएको जानकारी दिए । उनले बाटोको दुवै साईडमा खुला गर्नुका साथै सरसफाई गरिनुपर्ने बताएका छन् । बजार समितिले यस तर्फ ध्यान दिनुपर्ने उनको धारणा व्यक्त गरेका छन् ।
व्यवसायी सुशिला दासले बजार सरसफाई नभएको गुनासो गरिन् । उनले आफूहरु हप्तामा एक दिन आए पनि दैनिक व्यवसाय गर्नेहरु धेरै समस्यामा रहेको सुनाईन् । उनले बजारमा फोहोर नै मुख्य समस्या रहेको बताइन् ।

१२ वर्षदेखि कृषिथोक बजारमा किनमेल गर्दै आएका अर्जुनधारा– ६ का गिताप्रसाद पोखरेलले हिलो कादोले बजार दुर्गन्धित भएको बताए । उनले सुरुवाल माथि सारेर बजार भर्नुपर्ने बाध्यता रहेको भन्दै सरसफाईमा ध्यान दिन आग्रह गरे । समितिलाई उनले बजार व्यवस्थित गर्न आग्रह गरेका छन् ।
बजारमा भेटिएका अर्का उपभोक्ता दुर्गा प्रसाद रिजालले कृषिथोकमा फोहोरको व्यवस्थापन नभएको बताए । बजारमा पानी जमेको, नालीको व्यवस्थापन नभएकोले सरसफाईको अवस्था राम्रो नभएको उनको भनाई थियो ।
यस्तै, कृषिथोकमा धेरै फोहोर देखेको गिता देवी सापकोटाले बताइन् । उनले बजार व्यवस्थापनका लागि दुर्गन्ध कम गर्न आग्रह गरेकी छन् । बजारमा सरसफाई राम्रो नभएको उपभोक्ता यमुना सिटौलाको भनाई छ । उनले भनिन्, ‘हिलो धेरै हुन्छ, सरसफाई छैन । दुर्गन्ध धेरै छ । पैसा उठाउछन्, कहाँ लैजान्छन् थाहा छैन ।’

यस्तै, अर्का उपभोक्ता दिपेश अग्रवालले फोहोर व्यवस्थापन कम भएको जानकारी दिए । वर्खामा धेरै हिलो हुने गरेको सुनाएका छन् ।
अटो चालक हरिस चौधरीले सब्जी व्यवसायीहरुले फोहोर व्यवस्थापन गर्नुपर्ने बताए । व्यवसायीहरुकै कारण दुर्गन्ध भएको उनको भनाई थियो ।
अर्का उपभोक्ताले खाद्यवस्तुहरुको मुल्य कम गर्नुपर्ने धारणा राखे । अर्जुनधारा ५ का एकराज गिरीले कुनै पनि सागसब्जीहरुको मुल्य कम गरे उपभोक्ताहरुलाई सुविधा दिन आग्रह गरेका छन् ।







प्रतिक्रिया