प्रदीप परियार
बिर्तामोड । झापा बिर्तामोडमा रहेको कनकाई आदर्श क्याम्पसका विद्यार्थीहरुले पढ्दै कमाउन सुरु गरेका छन् । होटल म्यानेजमेन्ट अध्ययन गर्ने विद्यार्थीहरुले पढ्दै कमाउन सुरु गरेको क्याम्पस प्रमुख सुरेश चापागाईले जानकारी दिए ।
कनकाई क्याम्पसमा होटल म्यानेजमेन्ट तर्फका कक्षा १२ का विद्यार्थीहरुले आजबाट आफ्नै लगानी, सीपबाट उत्पादित खाजा विक्रीबाट आम्दानी सुरु गरेका छन् । होटल म्यानेजमेन्टमा अध्ययन गर्ने विद्यार्थीले पाठ्यक्रम अनुसार अभ्यास गर्ने गरेका छन् । अभ्यासकै क्रममा बनाएका खानेकुराहरु क्याम्पसका शिक्षक, प्राध्यापक र विद्यार्थीहरुले सहुलियत मुल्यमा खान थालेका छन् । खानेकुरा बनाउन अभ्यास गर्नैपर्छ, विद्यार्थी स्नेहा दाहालले भनिन् – पहिलो दिन बनाएको सेन्ड्वीज र फ्रेन्ज फ्राई ७५जनाले ६० रुपैयाँका दरले खरिद गरेर खानुभएको छ । सुरुमै गरिएको अभ्यासले विद्यार्थीहरुलाई उत्साहित बनाएको उनको भनाई थियो ।

विद्यार्थी प्रकृति राजवंशीले समूहमा बसेर पकाउदै सिक्दै गर्दा काममा सहज भएको बताइन् । उनले एक्लै गर्नु र समूहमा रहेर काम गर्दाको उत्साह नै अलग भएको बताएकी छन् । उनीहरुले पहिलो पटक सेन्ड्वीज बनाएर खुवाएको अनुभव सुनाए ।
अभ्यासमा सरिक विद्यार्थीहरुले जनही १५० रुपैयाँ संकलन गरेर सामग्रीहरु खरिद गरेका थिए । क्याम्पसले अभ्यासकै लागि बनाएको किचनमा खानेकुराहरु तयार गरिएको थियो ।
पढ्दै सिकेका कुराहरुलाई प्रयोगात्मक गर्नका लागि क्याम्पसमा विद्यार्थीहरुलाई पढ्दै कमाउने वातावरण बनाइएको क्याम्पसका प्रशासन प्रमुख महेन्द्र मिश्रले जानकारी दिए । उनले विद्यार्थीहरुले आम्दानी नै गर्न थालेपछि अध्ययन खर्चमा समेत सहयोग पुग्ने बताए । उनका अनुसार विद्यार्थीहरुले पढाई र अभ्याससँगै न्यूनतम मुल्यमा फरक–फरक खाजा बनाएर खुवाउने छन् ।
कनकाई आदर्श क्याम्पसमा विद्यार्थीहरुको सहजताका लागि न्यूनतम शुल्कमा होटल म्यानेजमेन्ट पठनपाठन गर्दै आएको प्लस टुका प्रिन्सिपल विष्णु दाहालले जानकारी दिए । उनले क्याम्पसमा सैद्धान्तिकसँगै प्रयोगात्मक कक्षा सञ्चालन गरिरहेको जानकारी दिएका छन् । कोष अनुसार अभ्यास गरिने उनको भनाई छ ।







प्रतिक्रिया