बिर्तामोड । झापा बिर्तामोड निवासी पूर्व सांसद विमला विश्वकर्मा अहिले राजनीतिसँगै व्यापारमा सक्रिय हुनु भएको छ । मजदुर क्षेत्रबाट राजनीतिमा आउनु भएको विश्वकर्मा यतिबेला राजनीतिसँगै आर्थिक उपार्जनका लागि सफाई केमिकल उत्पादनमा लाग्नुभएको छ ।
जहाँ पुगे पनि आफूले उत्पादन गरेका केमिकलजन्य सामग्री विक्रीका लागि बोकेर हिड्न थालेको पूर्व सांसद विश्वकर्माले जानकारी दिनुभयो । बिहीवार विहानै बिर्तामोड –६ स्थित इन्द्रचन्द्र क्याम्पसमा आफूले उत्पादन गरेका सामग्रीहरु अटोमा राखेर विक्रीका लागि पुग्नु भएको थियो । केमिकलजन्य सामग्रीहरु कालो फिनेल, सेतो फिनेल, ट्वाइलेट क्लिनर, भाँडा माझ्ने डिसवास,सिसा पुछ्ने कोलिन र हेण्डवास लगायतका सामग्रीहरु घरमै उत्पादन गरिरहेको प्रतिनिधिसभाको पूर्व सदस्य विश्वकर्माले जानकारी दिनुभयो ।

लामो समयदेखि राजनीतिमा सक्रिय विश्वकर्माले अब महिला उद्यमीको रुपमा आफ्नो पहिचान बनाउन चाहेको बताउनुभयो । राजनीतिक नेतृसँगै महिला उद्यमी बनेर समृद्धि हासिल गर्ने चाहना रहेको उहाँको भनाई छ ।
घर परिवार, सामाजिक एवम् राजनीतिक जिम्मेवारी पुरा गर्दै केमिकल उद्योग सञ्चालन गरिरहेको बताउने उहाँले राजनीतिसँगै व्यवसायमा जोडिन अनिवार्य रहेको बताउनुभएको छ । सानो लगानीबाटै आफूले उद्यम सुरु गरेको उहाँको भनाई छ । घरमा उक्त सामग्रीहरु उत्पादन गर्न छोरा र छोरीले सहयोग गरिरहेका छन् ।
उहाँले विभिन्न संघसंस्था, सुपर मार्केटमा आफ्नो उत्पादन पुराउन थालेको बताउभयो । राजनीतिक कार्यक्रमहरुमा जाँदा पनि ब्यागमा लिएरै जान्छु, उहाँले भन्नुभयो – सबैको घरघरमा आवश्यक पर्ने सामग्री हो, साथीभाईहरुले पनि किनिदिनु हुन्छ । ८ प्रकारका सामग्रीलाई एक-एक प्याकेज बनाएर ७० रुपैयाँ छुटमा जम्मा १ हजारमा विक्री गर्ने गरिएको छ । २५ लाखको लगानीमा सुरु गरिएको यूनिक केमिकल उद्योगबाट उत्पादित सामग्रीहरु स्थानीय स्तरमा पुराउने योजना रहेको विश्वकर्माको भनाई छ ।
विश्वकर्मा हाल मुक्ति समाजको केन्द्रीय सचिवालय सदस्य, झापाको इञ्चार्ज र नेकपा एमाले कोशी प्रदेश कमिटीको सचिवालय सदस्यको रुपमा क्रियाशिल हुनुहुन्छ ।







प्रतिक्रिया