कपिलवस्तु साउन २५ गते । केपी ओली नेतृत्वको सरकारले नापी भएको एक महिना भित्रै लालपुर्जा प्रदान गरेको छ ।
कपिलवस्तु को विजयनगर गाउँपालिका र बाणगंगा नगरपालिकामा भूमिहिन सुकुम्वासीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले लालपुर्जा प्रदान गर्नु भएको थियो । वर्षौँदेखि आफ्नो भनिने जमिनमा बसोबास गर्दै आएका तर कानुनी कागज नपाएका भूमिहीन घरधुरीलाई पहिलो पटक जग्गाधनी प्रमाणपत्र वितरण गर्नु भएको थियो ।

शनिवार, विजयनगर गाउँपालिका–१ जबाबैराठका थारु समुदायका हातमा पहिलो पटक लालपुर्जा राखिँदै थियो । बिहानैदेखि गाउँमा उत्साहको माहौल थियो । लालपुर्जा हस्तान्तरणका लागि कपिलवस्तुमा नापी भएको एक महिना भित्रै भूमिहीन सुकुम्वासीले लालपुर्जा प्राप्त गरेका छन् । विजयनगरका २१ र बाणगंगा नगरपालिकाका ७ मोतिपुरडाडाँका २८ घरधुरीले एक महिना मै लालपुर्जा प्राप्त गरेका हुन ।
लालपुर्जा वितरण गर्दै मन्त्री अधिकारीले यो वर्ष बजेट मार्फत ५ लाख घरधुरीलाई लालपुर्जा वितरण गर्ने सरकारको लक्ष्य रहेको बताउनु भयो । उहाँले यो आयोगलाई अन्तिम आयोग बनाउने गरी भूमिहीन सुकुम्वासी र भूमि सम्बन्धी समस्या देखिएका करिब १५ लाख घरधुरीलाई लालपुर्जा वितरण गर्ने तयारी रहेको स्पष्ट पार्नु भयो ।
विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले भूमिहीन सुकुम्वासीलाई जति सक्यो छिटै लालपुर्जा वितरण गर्ने गरी काम गरेको बताउनु भयो । उहाँले २५ दिनमा लालपुर्जा दिने काम सम्पन्न गरेकोमा आयोगलाई धन्यवाद समेत प्रकट गर्नु भएको थियो । जबाबैराठमा असार २९ देखि साउन १ गतेसम्म नापीको काम सम्पन्न गरिएको थियो । एक हप्ते दाबी–विरोध र १५ दिन राजस्व दाखिला पछि लालपुर्जा बाड्न सम्भव भएको हो । यसै गरी मोतीपुर डाँडामा असार १३ देखि सुरु भएको नापी प्रक्रिया एक सातामै पूरा भएको थियो । आवश्यक प्रक्रिया पुरा गरी २८ भूमिहीनले लालपुर्जा पाएको वडा अध्यक्ष विष्णु गिरीले बताउनु भयो ।
लालपुर्जा वितरण कार्यक्रममा प्रतिनिधि सभा सदस्य सिराज अहमद फारुकी, भुमि आयोग कपिलवस्तु का अध्यक्ष झवीलाल पोख्रेल, प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले मन्तव्य राख्नु भएको थियो । आज आइतबार मायादेवी गाउँपालिकाका २ हजार घरधुरीलाई लालपुर्जा वितरण गरिएको नापी कार्यालय, कपिलवस्तुका प्रमुख जनक भण्डारीले जानकारी दिनु भयो ।







प्रतिक्रिया