काठमाडौं । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति बचाऊ महाअभियानका संयोजकसमेत रहेका दुर्गा प्रसाईंले राजनीतिक दल खोल्ने घोषणा गरेका छन् ।
सोमबार भक्तपुरस्थित निवासमै पत्रकार सम्मेलन गरेर प्रसाईंले राजनीतिक दल खोल्ने घोषणा गरेका हुन् । ‘यसका लागि वर्तमान शासन प्रणाली बमोजिम राजनीतिक दल गठन गर्नुपर्ने अनिवार्य छ, तसर्थ राजनीतिक शक्ति निर्माणका लागि राजनीतिक दल गठन गर्ने निश्चय गरेको छु’, उनले भने । उनले एक व्यवसायी राजनीतिमा संलग्न हुने रहर नभई बाध्यता रहेको पनि बताए ।

‘राजनीतिले विगारेको यो राजनीतिक, आर्थिक र सामाजिक अवस्थामा सुधारका लागि राजनीतिमा संलग्न हुनु हामी बाध्य भएका छौँ तसर्थ मुलुक र मुलुकवासीको अवस्था परिवर्तनका लागि राष्ट्रिय, स्वाभिमान, स्थिर, रोजगारी सुशासन राष्ट्र राष्ट्रियता धर्मसंस्कृति तथा नागरिकको रक्षाका लागि म लगायत हाम्रो अभियानका साथीहरूले राजनीतिक दल खोली राजनीतिमा संलग्न हुने अठोट गरेका छौँ’, उनले भने ।
प्रसाईं राजसंस्था पुनर्स्थापनाका लागि गठन भएको ‘संयुक्त जनआन्दोलन समिति’ ले तोकेका ुजनकमाण्डरु पनि हुन् । उनको नेतृत्वमा चैत १५ गते काठमाडौंको तीनकुनेमा प्रदर्शन भएको थियो ।
उक्त प्रदर्शन हिंसात्मक बनेपछि दुई जनाको मृत्यु भएको थियो भने निजी घर, जडिबुटी प्रशोधन केन्द्र, पार्टी कार्यालय र सरकारी गाडीमा आगजनी भएको थियो । उक्त घटनामा जेल परेर छुटेपछि सोमबार पहिलो पटक पत्रकार सम्मेलन गरेर राजनीतिक पार्टी खोल्ने घोषणा गरेका हुन् ।







प्रतिक्रिया