Banner news

इक्यान झापाले सिडिओलाई भन्यो – कन्सल्टेन्सीको अनुगमन गरिदिनुहोस्

इक्यान झापाले सिडिओलाई भन्यो – कन्सल्टेन्सीको अनुगमन गरिदिनुहोस्


बिर्तामोड । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापाले शैक्षिक परार्मश ब्यवसायलाई मर्यादित र ब्यवस्थित बनाउन आवश्यक सहयोग गरिदिन आग्रह गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ ।

शैक्षिक परामर्श व्यवसाय विद्यार्थीहरुलाई उच्च शिक्षाको लागि अन्तराष्ट्रिय अध्ययन सम्बन्धी जानकारी, मार्गदर्शन र सेवाप्रदान गर्ने एउटा महत्वपूर्ण क्षेत्र भएको भन्दै पछिल्ला दिनमा केही भ्रामक गतिविधिहरु र गैरजिम्मेवार अभ्यासका कारण यस क्षेत्रमा प्रश्न उठ्न थालेकाले समग्र व्यवसायको विश्वसनीयता र मर्यादामा गम्भीर असर परेको इक्यान झापाले बुझाएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।


इक्यान झापाका अध्यक्ष रोशन सुवेदी र सचिव अशोक भण्डारीले हस्ताक्षर गरेको ज्ञापन पत्रमा भनिएको छ – ‘हामी नेपाल शैक्षिक परामर्श संघ झापा शाखा यस क्षेत्रमा कार्यरत सम्पूर्ण व्यवसायीहरुलाई एकीकृत गर्दै शैक्षिक परामर्श व्यवसायलाई थप मर्यादित, पारदर्शी र व्यवस्थित बनाउन चाहन्छौ । नेपाल शैक्षिक परामर्श संघ झापा शाखामा करिव ५० शैक्षिक परामर्श व्यवसायीहरु आवद्ध भएको र हाम्रो संघमा आवद्ध भएको हरेक व्यासायीहरु राज्यको नियम कानुनको परिधिमा रहि विशुद्ध शैक्षिक परामर्श व्यवसाय संचालन गर्दै आएको जानकारी गराउदछौ ।’

पछिल्लो समयमा शैक्षिक परामर्श व्यवसाय प्रति नकरात्मक टिकाटिप्पणी तथा गलत अफवाह फैल्याउने काम भइरहेको भन्दै इक्यान झापाले प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अधिकारीलाई ज्ञापन पत्र बुझाउँदै आफुहरु राज्यको नियम र कानुन अनुसार सञ्चालनमा रहे पनि केही कन्सल्टेन्सीको बदमासीका कारण सबै लज्जित हुनुपर्ने अवस्था आएको बताइएको छ ।

इक्यानमा आवद्ध नै नभएका र राज्यको सम्वन्धित निकायहरुमा दर्ता प्रकृयामा समेत सामेल नभएका कन्सल्टेन्सीको नाममा भिजिट भिजा, राम्रो कामको अवसर, रोजगारीको ग्यारेन्टी, भिजा ग्यारेन्टी, विभिन्न उपहारको प्रलोभन देखाएर विधार्थीहरुलाई विदेश पठाउनेक्रममा धेरै ठगी तथा गलत सूचना प्रदान गरेको गुनासो नेपाल शैक्षिक परामर्श संघमा समेत प्राप्त भएकाले त्यस्ता कन्सल्टेन्सीको नाममा अनुचित कार्यहरु गर्ने सस्थाहरुको अनुगमन र नियमन गरिदिन आग्रह गरिएको हो ।

इक्यान झापामा आवद्ध कुनै पनि कन्सल्टेन्सीहरुले गलत गरेको पाइएमा सदस्यता खारेज गरि तत्काल सम्वन्धित निकायमा आवश्यक कानुनी कारबाही गर्नका लागि सिफारिस गर्न आफुहरु तयार रहेको इक्यान झापाका अध्यक्ष सुवेदीले जानकारी दिए । झापाका सयभन्दा बढी कन्सल्टेन्सीहरु सञ्चालनमा रहेको बताइएको छ ।

इक्यान झापाले जिल्लामा क्रियाशील शैक्षिक परामर्श व्यवसायलाई दर्ता, नवीकरण र नियमनमा कडाई गरिनुपर्ने, विद्यार्थीहरुको हितविपरीत हुने अव्यवस्थित अभ्यासलाई नियन्त्रण गर्नुपर्ने, व्यवसायीहरुलाई कानूनी दायरा र निर्धारित मापदण्ड भित्र रहेर काम गर्न प्रेरित र प्रोत्साहित गर्नुपर्ने, नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापा शाखासँग समन्वय गरी यस क्षेत्रलाई पारदर्शी र परिणाममुखी बनाउन सहजीकरण गर्नुपर्ने लगायतका माग समेत प्रमुख जिल्ला अधिकारी समक्ष राखेको छ ।

ज्ञापनपत्र बुझदै प्रमुख जिल्ला अधिकारीले जिल्लामा सञ्चालित कन्सल्टेन्सीहरुको अनुगमन गर्ने बताए । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापाले आफैं अनुगमन गरिदिन आग्रह गर्नु सकारात्मक कुरा भएको भन्दै कन्सल्टेन्सीहरुको सञ्चालन सम्बन्धि कार्यविधिका विषयमा अध्ययन गरेर छिट्टै जिल्लाभर अनुगमन गर्ने प्रतिबद्धता प्रजिअ अधिकारीले प्रतिबद्धता जनाए ।

उनले शैक्षिक परार्मश व्यवसायलाई मर्यादित र व्यवस्थित बनाउन आवश्यक सहयोग गर्न जिल्ला प्रशासन कार्यालय तयार रहेको उल्लेख गरे । पछिल्ला समय वैदेशिक रोजगारी तथा अध्ययनका नाममा हुने ठगीका घटनालाई आफुहरुले निगरानी गरिरहेको भन्दै कसैलाई राज्यको नियम र कानुन विपरीतका कार्य गर्ने छुट नगरको उल्लेख गरे । ज्ञापन पत्र बुझाउन नेपाल शैक्षिक परामर्श संघ इक्यान झापाका पदाधिकारी, कार्यसमति सदस्य तथा इकयान झापाका सदस्यहरुको सहभागिता रहेको थियो ।

शेयर गर्नुहोस :

162
Shares