अन्तराष्ट्रिय

झापाली समाज युएईको अध्यक्षमा दमकका लोकेश कोइराला सर्वसम्मत

झापाली समाज युएईको अध्यक्षमा दमकका लोकेश कोइराला सर्वसम्मत


युएई । झापाली समाज युएईको अध्यक्षमा लोकेश कोइराला चयन भएका छन् । झापाली समाज युएईको स्थापनाकालदेखि सामाजिक योगदान गरिरहेका दमक स्थायी घर भएका कोइराला अबुधाबीको एक कम्पनीमा म्यानेजरका रूपमा बिगत १५ वर्षदेखि कार्यरत छन् ।


सहयोगी तथा मिलनसार व्यक्तित्वको छवि बनाएका कोइराला झापाली समाज युएईको गत १७ अगस्ट २०२५ मा दुबई स्थित श्री राज लस्सी क्याप्टेरियाको हलमा आयोजित पाँचौ अधिवेशनले आगामी कार्यकालका लागि सर्वसम्मत चयन भएका हुन् ।

यसैगरी उपाध्यक्षमा रत्न सापकोटा र बिष्णुमाया दंगाल चयन भएका छन् । महासचिवमा रामकुमार राउत, सचिवमा भुपेन्द्र आचार्य ९कान्छो० र भरत बुढाथोकी सर्वसम्मत चयन भएका हुन् । केन्द्रीय कोषाध्यक्षमा प्रेम अधिकारी र सहकोषाध्यक्षमा काशीनाथ ढकालले निरन्तरता पाएका छन् । अधिवेशनबाट केन्द्रीय सदस्यमा इसाक आलम समिर चयन भएका छन् ।
प्रथम उपाध्यक्ष लगायत केही केन्द्रीय सदस्यहरु केन्द्रीय समितिको पहिलो पुर्ण बैठकले मनोनित गर्ने नवनियुक्त अध्यक्ष कोइरालाले बताएका छन् ।

झापाली समाज युएईका सामाजिक गतिविधिहरुको प्रशंसा गर्दै प्रमुख अतिथिका रूपमा उपस्थित नेपाली समाज युएईका अध्यक्ष राम मोक्तानले अन्य समाजहरुले झापाली समाज युएईको सिको गर्नुपर्ने बताए । उनले युएईको नेपाली सामाजिक परिवेशमा झापालीहरुले धेरै उदाहरणीय कामहरु गरेको र त्यसका लागि समाजले निर्माण गरेको बृत्तचित्र हाम्रो दायित्व हेर्न सुझाव दिएका छन् ।

झापाली समाज युएईले पाँचौ अधिवेशनलाई मितव्ययी बनाउदै त्यसबाट बचत भएको ५ सय दिराम नेपाली समाज युएईको राहत तथा उद्वार कोषमा सहयोग गरेकोमा प्रमुख अतिथि मोक्तानले यो उदाहरणीय काम भएको र यसले एक जना पीडित नेपालीले नेपाल फर्कन टिकट खर्च पुग्ने दाबी गरेका छन् ।

अधिवेशनमा बिशेष अतिथिका रूपमा उपस्थित नेपाली समाज युएईका संस्थापक उपाध्यक्ष चन्द्रप्रसाद सापटाले झापाली समाज युएईका हरेक सामाजिक कामहरु प्रेरणादायी भएको जानकारी दिएका छन् ।

अधिवेशनमा विशेष अतिथि नेपाली समाज युएईका पूर्व अध्यक्ष बेदप्रसाद अर्यालले झापाली समाज युएईले कुनै पनि कामहरु स्मार्ट तरिकाले सम्पन्न गर्ने बताउदै नेपाली समाज युएई र झापाली समाज युएईबीच उल्लेखनीय सहकार्य भएको स्मरण गराएका छन् ।

झापाली समाज युएईका सल्लाहकार रघुनाथ ढुंगेल, पुर्व केन्द्रीय सदस्य प्रेम गौतम, सल्लाहकार खगेन्द्र कटुवाललगायत समाजका अबुधाबी सुर्यबहादुर खवस, दुबई अध्यक्ष इबनारायण तिवारी, सारजहा अध्यक्ष बिष्णु प्रसाईं, राक अध्यक्ष केशब कार्की सहित प्रतिनिधिहरु उपस्थित भएर अधिवेशन सफल पारेका छन् ।

नेपाल पत्रकार महासंघ युएईका अध्यक्ष मेघराज साप्कोटाले बन्द सत्रको अध्यक्ष मण्डलको नेतृत्व गर्दै नवनिर्वाचित केन्द्रीय समितिलाई पद तथा गोपनीयताको सपथ गराएका थिए । निर्वाचन मण्डलमा झापाली समाज युएईका संस्थापक परिकल्पनाकार रामप्रसाद ढुंगेल र कोच राजवंशी समाज युएईका अध्यक्ष दुबल राजवंशी सहभागी भएर कार्य सम्पादन गरेका थिए ।

 

शेयर गर्नुहोस :

108
Shares