Banner news

दोमुखाले कमायो ८२ लाख, ३० प्रतिशत नगरपालिकालाई

दोमुखाले कमायो ८२ लाख, ३० प्रतिशत नगरपालिकालाई


नयाँ नेतृत्व चयनका लागि भाद्र १४ गते निर्वाचन हुने

शिवसताक्षी । झापाको शिवसताक्षीमा रहेको दोमुखा धार्मिक तथा पर्यटन विकास समितिले ८२ लाख बढी आम्दानी गरेको छ । पर्यटन विकास समिति १५ औं वार्षिक साधारण सभा तथा ७ औं अधिवेशनमा संस्थाले २०८१/०८२ मा गएको वर्षहरु भन्दा राम्रो आम्दानी बढेको जनाएको हो । जसमा संस्थाले ८२ लाख ८४ हजार १५७ आम्दानी गरेको छ ।

साधारण सभामा संस्थाका अध्यक्ष धनप्रसाद लावतीले सस्थाको प्रतिवेदन प्रस्तुत गर्दै गएका वर्षहरु भन्दा आर्थिक २०८१/०८२ पर्यटन क्षेत्रका धेरै काम भएको र आम्दानी बढ्न सफल भएको बताए । संस्थाले शिवसताक्षी नगरपालिकालाई आम्दानीको ३० प्रतिशत रकम १९ लाख ९५ हजार बुझाएको छ । उनले भने, यो सबैको साथ र सहयोगले सफल भएको हो ।


उनले भावी योजनाका रुपमा कनकाई नदिमा दोमुखादेखि चेप्टीसम्म पुग्ने बोटिङ्ग योजना बनाउने, रात्रीकालिन पर्यटन प्रवद्र्धन गर्न होटल व्यवसायीसँग समन्वय गरेर होमस्टे सञ्चालन गर्ने योजना गरेको बताए । त्यस्तै गैडे सामुदायिक वन उपभोक्ता समूहसँग समन्वय गरी लभ डाँडामा पर्यापर्यटन सम्बन्धी योजनाका रुपमा कार्यक्रम सञ्चालन गर्ने, माई नदिको तटीय क्षेत्रमा धार्मिक तथा पर्यटकमैत्री विभिन्न मनोरञ्जनात्मक तथा साहसिक खेलहरुको योजना बनाउने उद्देश्य रहेको अध्यक्ष लावतीले जानकारी दिए ।

साधारण सभामा १ थान र पक्की टहरा निर्माण गरी संस्थालाई हस्तान्तरण गर्ने स्थानीय लुम्फुङ्गा परिवार र गैडे सामुदायिक वनलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले पछिल्लो समय दोमुखामा शिवसताक्षीको अन्य क्षेत्र भन्दा विकास निर्माणको काम धेरै भएको बताइन् । उनले भनिन् दोमुखा हामी सबैको साझा सम्पत्ती भएकाले यसको संरक्षण विकासमा सबै एक जुट भएर लाग्नु पर्नेछ । उपप्रमुख कार्कीले दोमुखाको ३ वर्षे कार्यकालका लागि अब बन्ने कार्य समितिमा राजनीतिक रंग नदिई सक्षम नेतृत्व चयन गर्न सुझाइन् ।

दोमुखामा आर्थिक वर्ष २०८१-०८२मा दोमुखा प्रवेशद्वार माइधारमा दुई मुखे गेट, झोलुङ्गे पुल, चिल्डे«न पार्कसम्म सडक बत्ती, दोमुखा झल्काउने माछाको स्तब्ध, पार्किङ्ग क्षेत्रमा इन्टरलक ब्लक, रेलिङ्ग आदिको काम भएको प्रतिवेदनमा उल्लेख छ ।

चालु वर्षदेखि दोमुखामा सवारी पार्किङ्ग शुल्क नलिने व्यवस्था गरिएको संस्थाले जनाएको छ। दोमुखाको साँस्कृतिक पार्क लिइदै आएको प्रति व्यक्ति ७० रुपैयालाई बढाएर १ सय कायम गरिएको छ । अध्यक्ष लावतले भने संस्थाले अब छुट्टै पाकिङ्ग शुल्क लिने छैन । साधारण सभाको आर्थिक प्रतिवेदन संस्थाका सचिव धनकुमार ढकालले प्रस्तुत गरेका थिए ।
त्यस्तै ७ औं अधिवेशनले ३ वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयनका गर्न निर्वाचनको मिति घोषणा गरेको छ । मंगलवार बनेको निर्वाचन समितिले आगामी भाद्र १४ गते विहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म संस्थाका कार्यालयमा निर्वाचन हुने जनाएको छ । निर्वाचन समितिका संयोजक लिला भट्टराईले भाद्र ७ गते विहान १० बजेदेखि बेलुका ४ बजेसम्म उम्मेद्वारी दर्ताका मिति तय गरेको जानकारी दिए ।

साधारण सभामा वडाध्यक्ष हर्क सिगु, गैडे सामुदायिक वनका अध्यक्ष रामध्वज लावती, नेकपा एमाले वडा नं. १० का अध्यक्ष डम्बर अधिकारी, समाजसेवी अमृत कार्की लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका सचिव धनकुमार ढकालले गरेका थिए ।

शेयर गर्नुहोस :

270
Shares