बिर्तामोड । तीजको अवसर पारेर महिला सहकारीकर्मीहरूको प्रतिनिधित्वमा जिल्ला सहकारी सङ्घ झापाले आज उत्प्रेरणामूलक कार्यक्रम सञ्चालन गरेको छ ।
संघ अन्तर्गत महिला उपसमितिको आयोजना तथा संयोजक देवी निरौला बस्नेतको अध्यक्षतामा बिर्तामोडमा आयोजित कार्यक्रम बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्य रहेको थियो ।
सो कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि प्रसाईले सहकारी प्रतिको दृष्टिकोण र व्यवहार दुवैलाई सकारात्मक एवं नकारात्मक कोणहरूबाट मन्थन गरेर आफ्नो धारणा बनाउन सुझाव दिनुभयो ।
पुरुष प्रधान समाज भएर होला दिनभर सँगसँगै काम गरेका श्रीमान श्रीमती घर पुगेपछि श्रीमतीले छोराछोरी सासू ससुरा र भात भान्सो गर्नुपर्ने तर श्रीमान चाहिँ यत्तिकै बसिरहेको देख्दा समानता कागजमा मात्रै सीमित रहेको हो कि ! भन्ने जिज्ञासा पनि उहाँले उजागर गर्नुभयो।

नेपाल जेसीजका राष्ट्रिय प्रशिक्षक रश्मी शिल्पकारले प्रमुख प्रशिक्षकको रुपमा उत्प्रेरणामूलक सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा संस्थाका सचिव भवानीप्रसाद दंगालले कार्यक्रमको औचित्य माथि प्रकाश पार्नुहुँदै जिल्ला सहकारी सङ्घको वर्तमान अवस्थाका बारेमा प्रस्तुति राख्नुभएको थियो।
उहाँका अनुसार झापामा ७५६ वटा सहकारी संस्थाहरू क्रियाशील रहेको तीमध्ये ४९३ वटा संस्था जिल्ला संघमा आबद्ध रहेको जानकारी दिनुभयो । देशैभर सहकारी सङ्घ संस्थाहरूमा समस्या उत्पन्न भएको भएपनि कोशी प्रदेशमा न्यून संख्यामा मात्र समस्या रहेको पाइएको उहाँको भनाई छ ।
झापाको तथ्याङ्क सुनाउँदै जिल्ला संघका सचिव दंगालले समस्यामा परेका संस्थाहरूको संख्या २८ वटा रहेको र तीमध्ये ६ वटाको समस्या समाधान भइसकेको जानकारी पनि दिनुभयो ।
२८ वटामध्ये २४ वटा प्रदेश सहकारी रजिस्ट्रार कार्यालयको नियमन क्षेत्रभित्र र चारवटा पालिकाको नियमन क्षेत्रभित्रका सहकारीहरू रहेको सचिव दंगालको भनाइ छ । आफ्नो प्रस्तुतिमा सचिव दंगालले जिल्लाको सहकारी अभियानको वर्तमान अवस्था, अप्ठ्याराहरू, सम्भावनाहरू र चुनौती माथि प्रकाश पार्नुभएको थियो । अहिले सहकारीमा कर अव्यावहारिक रुपमा तिरिराख्नु परेको सुनाउनु हुँदै सचिव दंगालले झापाभर कार्यक्षेत्र रहेका सहकारीले १७ ठाउँमा ४१ प्रतिशत सम्म कर बुझाउनु परेको तीतो यथार्थ सुनाउनुभयो ।
जिल्ला संघका सदस्य देवीकुमारी अधिकारीले सञ्चालन गर्नुभएको सो कार्यक्रम मा आमन्त्रित अतिथि तथा सहभागीहरूलाई अर्का सञ्चालक सदस्य नीलाकुमारी दाहालले शाब्दिक स्वागत गर्नुभएको थियो ।








प्रतिक्रिया