प्रदीप परियार
बिर्तामोड । बालबालिकाहरुको बाङ्गो खुट्टाको उपचारका लागि भारत बिहारबाट तीन वटा परिवार बिर्तामोड नगर अस्पताल आएका छन् । उपचारका लागि पटना जानुपर्ने भएपछि उनीहरु बिर्तामोड नगर अस्पताल आएका हुन् ।
दुई वर्षदेखि बिर्तामोड नगर अस्पतालमा उक्त सेवा उपलब्ध रहेको छ । अपांग बाल अस्पताल तथा पुर्नस्थापना केन्द्र बनेपा र नगर अस्पतालको साझेदारीमा उपचार सेवा सञ्चालन भइरहेको छ । इटहरीस्थित क्षेत्रीय कार्यालयबाट बिर्तामोडमा सेवा सञ्चालन भइरहेको जनाइएको छ । जन्मजात खुट्टा बाङ्गो हुने बालबालिकाहरुको खुट्टा सिधा बनाउन साझेदारीमा सेवा सञ्चालन भइरहेको काष्टटेक्निसियन लक्ष्मी चौधरीले जानकारी दिइन् ।
बिहार राज्यस्थित दिगलबैंकबाट आएका मोहम्मत जमालुद्दिनले दुई नातीनातिनी र एक छिमेकीको बच्चासहित उपचारको लागि आएको जानकारी दिए । यो उपचार गर्न पटना जानुपर्छ, तर बिर्तामोड नजिक भएकाले यहाँ नै आयौं, उनले भने – त्यसमध्ये एउटा बच्चाको खुट्टा सिधा भइसक्यो । दुई जनाको उपचार सुरु गरिएको छ । एक जना दुई महिनाको शिशुको समेत खुट्टाको उपचार भइरहेको छ । सो उपचार सेवा १८ वर्षसम्मलाई दिने गरिएको छ ।

७,८ पटकसम्म काष्ट प्लाष्टर गरेर खुट्टा सिधा बनाउने गरिएको काष्टनेक्निसियन लक्ष्मी चौधरीले जानकारी दिइन् । उनका अनुसार ५÷६ हप्तासम्म पोन्सिटी विधिबाट उपचार गरेर खुट्टा सिधा बनाउने गरिएको छ । बालबालिकाहरुको पैतालाको भाग घुमेर मुनी र माथि तिर जाने समस्यालाई पोन्सिटी विधिबाट उपचार गर्दै आएको चौधरीले जानकारी दिइन् । नगर अस्पतालमा उक्त सेवा लिनका लागि झापा, इलाम, पाँचथर, ताप्लेजुङ र छिमेकी राष्ट्रका नजिका जिल्लाहरुबाट समेत आउने गरेको उनको भनाई छ । बिर्तामोडबाट आर्थिक वर्ष ०८१-८२ मा २६ जना बालबालिकाहरुले सेवा लिएका छन् । उपचार गरिएका बालबालिकाहरु खुट्टा सिधा टेकेर हिडडुल गर्न सक्ने बनाइएको छ । चौधरीले बुधबार तीन जना भारतीय बच्चाको प्लष्टर गरिएको बताइन् ।
पहिले शल्यक्रियाबाट मात्रै गरिने सो उपचार अहिले पोन्सिटी विधीबाट उपचार गर्ने गरिएको छ । केही बालबालिकाहरुको हकमा शल्यक्रिया समेत गर्नुपर्ने हुन्छ, चौधरीले भनिन् – शल्यक्रिया पनि गर्नुपरेमा इटहरी पठाउने गरिएको छ ।
जनगणनाको तथ्याङक अनुसार एक हजार बालबालिकाहरुमध्ये १ देखि २ जनामा यस्तो समस्या देखिने गरेको छ । काष्टटेक्निसियन चौधरीले अस्पतालको तर्फबाट ६० प्रतिशत र विरामीको तर्फबाट ४० प्रतिशत खर्च हुने बताइन् । एक पटकको प्लष्टरमा ७५० सम्म खर्च हुने गरेको छ । बालबालिकाहरुको उमेर अनुसार शुल्क लाग्ने उनको भनाई थियो ।
प्लाष्टर गरेपछि बालबालिहरुले सिधा टेकेर हिड्न सक्नेछन् । कतिपय बालबालिकाहरुलाई सहयोगी सामग्रीको रुपमा विशेष प्रकारको जुत्ता समेत उपलब्ध गराउने गरिएको छ । उक्त सामग्री नापका आधारमा बनाएर दिने गरिएको फिल्ड सहजकर्ता जानकीबल्लभ भट्टराईले जानकारी दिए । उनले प्लष्टर वा शल्यक्रिया गरेको ३ हप्तापछि सहयोगी सामग्रीको रुपमा जुत्ता दिने गरिएको छ । नगर अस्पतालले कोठा व्यवस्थापन गरेर उपचारका लागि सहयोग गरिरहेको भट्टराईले जानकारी दिएका छन् ।








प्रतिक्रिया