इन्द्रकुमार राई
शनिश्चरे । विश्व हिन्दु परिषद अन्तर्राष्ट्रिय संगठनका महामन्त्री मिलिन्द पराण्डेले हिन्दु धर्म रक्षा गर्न आजको आवश्यकता रहेको बताएका छन् ।
धर्मो : रक्षति : रक्षति भन्ने मुख्य उदेश्यले विश्व हिन्दु परिषद नेपाल र अर्जुनधारा जलेश्वरधामको संयुक्त आयोजनामा भएको प्रवचनात्मक (प्रबोधन) कार्यक्रममा आज प्रवचन गर्दै यस्तो बताएका हुन् । भगवानको शक्तिबाट हिन्दुहरु आधारित रहेकोले धर्मको आस्था राख्न मन्दिर चाहिने उनको भनाई थियो । सनातन धर्म बिना मानव जीवन बर्बाद हुने बताउदै उनले सनातनीहरुलाई एकजुट हुन आग्रह गरे ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पराण्डेले हिन्दु राष्ट्र नेपाल पुनःस्थापना हुनुपर्नेमा जोडदिदै हिन्दुहरु एकजुट हुन् आग्रह गरे । उनले भने, धर्मले समाजमा एकता गराउँछ । धर्म ,संस्कार र संस्कृति संरक्षण गर्नु गर्नुपर्छ । अर्का, विशिष्ट अतिथि एवं विश्व हिन्दु परिषद भारतका केन्द्रीय सहमहामन्त्री अरुण नेटकेले मन्दिर धर्म जागरणको केन्द्र भएकोले धर्म रक्षाका लागि मन्दिर आवश्यक रहेको बताए ।
त्यस्तै विशेष अतिथि एवं जनजाति कल्याण आश्रम महासचिव प्रेम थुलुङले अहिलेको परिवेशमा तीन वटा हिन्दु, बुद्ध र किराँत धर्महरु धरापमा परेको जानकारी दिए । यी धर्महरु स्वदेश मै उत्पत्ति भएकोले हाम्रो आन्तरिक धर्महरु हस्तक्षेप गर्नका लागि विदेशीहरुको चलखेल भइरहेको आरोप लगाए । राज्यले धर्मको रक्षा गर्दैन्, धर्मको रक्षा समाजले गर्छ । धर्म रक्षा गर्न हिन्दुहरु जाग्नुपर्ने उनको सुझाव थियो ।
अर्जुनधारा जलेश्वरधाम समितिका अध्यक्ष नवीन गट्टानीको सभापतित्व तथा गुरुकुलका शिक्षक खगेन्द्र निरौलाले संचालन गरेको कार्यक्रममा विश्व हिन्दू परिषद केन्द्रीय सदस्य प्रल्हाद कुमार रेग्मी, विश्व हिन्दू परिषद झापा उपाध्यक्ष हरि प्रसाद भण्डारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
धामका मुल अर्चक एवं वैदिक सनातन धर्म संरक्षण समिति नेपाल केन्द्रीय उपाध्यक्ष अग्नि प्रसाद सिग्देलले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा गुरुकुलका विद्यार्थीहरुले स्वस्तिवाचन गरेका थिए । त्यसैबीच लक्ष्मी भट्टराईले गीत प्रस्तुत गरिन् । यसअघि प्रमुख अतिथि पराण्डे, विशिष्ट अतिथि, अतिथि लगायतले मुल मन्दिरमा भगवान शिव जीको दर्शन गरी पूजा आराधना गरेका थिए ।







प्रतिक्रिया