सम्पादकीय
नेपालमा सडकबाटै सत्ता परिवर्तन भएको छ । जेन जी आन्दोलनले सत्ता परिवर्तन गरेर देखाएको छ । नेपाली समाजलाई ठूलो झड्का दिएको जेन जी आन्दोलनको मुख्य उद्देश्य सत्ता परिवर्तन होइन । भ्रष्टाचारको अन्त्य र सुशासन जेन जी आन्दोलनको मुख्य उद्देश्य हो । यस आन्दोलनले जनताको पीडा, असन्तुष्टि र परिवर्तनको चाहनालाई बाहिर ल्याएको छ । नयाँ सरकार जन्माउने जेन जी आन्दोलनबाट जनताको ठुलो अपेक्षा छ । आन्दोलनको मूल उद्देश्य नै भ्रष्टाचारको अन्त्य र सुशासनको स्थापना भएकाले यसका लागि राज्यका सबै संयन्त्रको परिचालन जरुरी छ ।
आन्दोलनको जगबाट बनेको सरकारको पहिलो प्राथमिकता सुरुदेखि नै स्पष्ट र दृढ कदम चाल्न अनिवार्य छ । वर्षौंदेखि देशलाई खोक्रो बनाउँदै ल्याएको भ्रष्टाचारलाई निर्मूल पार्न सरकारले छानविन आयोग गठन गर्नुपर्छ । ठूला ठूला घोटाला, अनियमितता र सत्ता–प्रशासनसँग जोडिएका भ्रष्ट पात्रहरूको अनुसन्धान बिना नयाँ युगको सुरुवात सम्भव छैन । कानूनको आँखामा सबै समान भन्ने व्यवहार यसपटक देखिनुपर्छ । राजनीति क्षेत्रमा मात्रै प्रश्न उठाएर पनि भ्रष्टाचारको अन्त्य हुन सक्दैन । सबै क्षेत्रमा छानविन जरुरी छ ।
आन्दोलनका क्रममा भएको हत्या, तोडफोड र निजी तथा सार्वजनिक सम्पत्तिमा भएको क्षतिले आम नेपाली नागरिकलाई दुखी बनाएको छ । घटनाका सन्दर्भमा सत्यतथ्य बाहिर ल्याउन छुट्टै छानविन समिति पनि अनिवार्य रुपमा बनाइनुपर्छ । दोषी जोसुकै भए पनि कारबाहीबाट उम्किन नपाउने अवस्था सिर्जना गर्नुपर्छ । न्यायको अनुभूति दिलाउन सके मात्र परिवर्तनलाई जनताले आत्मसात् गर्नेछन् । अब परिवर्तनलाई स्वीकार गर्दै अघि बढ्ने समय आएको छ । राजनीतिक अस्थिरता र भ्रष्टाचारले थिलथिलो पारेको मुलुकलाई फेरि उठाउन सरकार मात्र होइन, नागरिक समाज, राजनीतिक दल, निजी क्षेत्र र आम जनताले पनि समान संकल्प गर्नुपर्छ । नयाँ सरकारको प्रत्येक कदम जनताले हेरिरहेका हुन्छन् । विसम परिस्थितिमा सरकारको पनि जनताले जाँच गरिरहेका हुन्छन । यो अवसरलाई सदुपयोग गर्दै सरकारले भ्रष्टाचार अन्त्य र सुशासनको अभ्यासमा अग्रसर भएमा जेन जी आन्दोलनको सपना साकार अवश्य साकार हुनेछ ।







प्रतिक्रिया