काठमाडौं, ३ असोज । नेकपा (एमाले)ले संविधान दिवसका अवसरमा संविधानको महत्वमाथि चर्चा गर्दै आन्तरिक समीक्षा, राजनीतिक एकता र असन्तुष्टिको कारणप्रति गम्भीर चासो व्यक्त गरेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेलले संविधान दिवसलाई आत्ममूल्यांकन र राष्ट्रिय एकताको दिवसको रूपमा मनाउनुपर्ने धारणा राखे ।

महासचिव पोखरेलले पार्टी आलोचना र समीक्षा गर्नबाट कहिल्यै पछि नहटेको स्पष्ट पारे । ‘समीक्षाबाट भाग्ने पार्टी होइन नेकपा (एमाले),’ उनले भने, ‘हरेक जटिल मोडमा इतिहास र कामको समीक्षा गर्दै त्यसकै जगमा पार्टीलाई अगाडि बढाउने प्रयास गरेका छौँ ।’ उनले अहिले देखिएको असन्तुष्टि र आक्रोशको जडमा युवावर्ग, सुकुम्बासी र प्रवासी जनताबीच बढ्दो दूरी रहेको स्वीकार गर्दै ती वर्गको भावना समेट्न नसकिएको कमजोरीप्रति संकेत गरे ।
‘महशुस गर्यौँ, योजना बनायौँ, तर जीवन्त बनाउन सकिएन,’ उनले भने, ‘आजको असन्तोष ती योजनालाई व्यवहारमा नल्याउन सक्दाको परिणाम हो भन्ने कुरा बुझ्न जरुरी छ ।’
महासचिव पोखरेलले विशेष गरी युवाहरुलाई राजनीतिसँग जोड्ने उद्देश्यसहित एमालेले मिशन सुरु गरे पनि त्यसलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्न नसकेको उल्लेख गरे । उनले आगामी दिनमा पार्टी युवावर्गसँग पुनः गहिरो सम्पर्कमा जाने स्पष्ट संकेत दिए ।
यसै अवसरमा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संविधान दिवसलाई नेपाली जनताको संकल्प र राष्ट्रिय एकताको प्रतीकका रूपमा स्मरण गरे । ‘यो दिवस हाम्रो एकताको दिवस हो,’ उनले भने, ‘जसले देशलाई नयाँ उचाइमा पुर्याउने सपना बोकेको छ ।’
वरिष्ठ उपाध्यक्ष पोखरेलले विगतमा एमालेले अनेक चुनौती र षड्यन्त्र सामना गर्दै यहाँसम्म आइपुगेको बताउँदै अहिले देखिएको अशान्ति र अस्थिरताको अवस्थामा पनि धैर्य, एकता र अग्रगमन आवश्यक रहेको बताए ।
‘हामी शान्त तलाउमा डुंगा चलाएर यहाँसम्म आएका होइनौँ,’ वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, ‘प्रत्येक कालखण्डमा चुनौतीको सामना गर्दै अघि बढेका हौँ ।’ दुवै नेताले संविधानको रक्षा, युवालाई समावेश गर्ने रणनीति र समसामयिक असन्तुष्टिको कारणलाई सुधारको अवसरको रूपमा उपयोग गर्दै पार्टीलाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।







प्रतिक्रिया