झापा । जेन जी आन्दोलनपछि ध्वस्त पारिएको झापाको अर्जुनधारा नगरपालिकाले आइतवारदेखि आधारभूत सेवा दिन सुरु गरेको छ । गत भदौ २४ गते जेनजी आन्दोलनको नाममा भएको आगजनी र तोडफोडका कारण पूर्ण रूपमा अवरुद्ध बनेको सेवा अर्जुनधारा नगरले आधारभूत सेवा सञ्चालन गरेको हो ।
नगरपालिकाको विशेष योजना र जनप्रतिनिधि तथा कर्मचारीको अथक प्रयासका कारण १० दिनभित्रै अस्थायी रूपमा सेवा दिन थालिएको छ । अत्यावश्यक कागजी काम, जन्मदर्ता, मृत्युदर्ता, सिफारिस लगायत वडास्तरीय सेवा रोकिँदा नागरिक समस्यामा परेका थिए ।

आगजनीका कारण नगरका ११ वटै वडा कार्यालय क्षतिग्रस्त भएपछि सेवा अवरुद्ध भएको थियो । सबै वडाध्यक्ष, सचिव, कर्मचारी र सदस्य जनप्रतिनिधिहरुले नगर कार्यपालिकाको सभाहलमै सामूहिक रूपमा सेवा दिन थालेपछि नगरवासीलाई सहज भएको छ । नगरको टाढा टाढाबाट सेवा लिन नगरपालिका आउनुपर्ने बाध्यता छ ।
नगरपालिकाले सामाजिक सुरक्षा भत्ता वितरणको प्रक्रिया पनि अघि बढाइसकेको छ । सम्बन्धित व्यक्तिको बैंक खातामा रकम जम्मा भइसकेको भएपनि बैंकको आन्तरिक प्राविधिक कारणले दशैंअघि भुक्तानी दिन नसकिने प्रमुख प्रशासकीय अधिकृत अनोजकुमार घिमिरेले जानकारी दिए ।
पहिले सधैंजसो वडा कार्यालयमा सेवाग्राहीको भीड लाग्ने गरेको थियो, केही दिनको अवरोधपछि अहिले भीड अझ बढेको छ । एकैपटक धेरै काम गर्नुपर्ने भएकाले इन्टरनेट सर्भरमा समस्या देखिएको छ ।
१५ करोडभन्दा बढीको क्षति
भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट झापाको अर्जुनधारा नगरपालिकामा १५ करोड रुपैयाँभन्दा बढी क्षति पुगेको छ ।
नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीका अनुसार नगरपालिकाको कार्यालयसँगै ११ वटै वडाकार्यालयमा भएको क्षतिको प्रारम्भिक विवरण संकलन गर्दा १५ करोडभन्दा बढी क्षति देखिएको हो । आगजनीमा ९ वटा चारपाङ्ग्रे र ७ वटा दुईपाङ्ग्रे सवारी साधन जलेका छन् । नगर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत चढ्ने गाडीसमेत पूर्णरुपमा जलेका छन् । दुईपाङ्ग्रे सवारीमध्ये ३ वटा निजी मोटरसाइकल पनि जलेका छन् ।
त्यस्तै, स्काभेटर, ब्याक्होलोडर, टिप्पर, ट्याङ्करलगायतका सवारी साधन पनि पूर्णरुपमा नष्ट भएका छन् ।
नगरपालिकाको भवनसँगै सबै वडामा भएको तोडफोड र आगजनीका कारण कम्प्युटर, फर्निचर, फाइलसहितका कार्यालय सामग्री पूर्णरुपमा जलेका छन् । प्रमुख जिल्ला अधिकारीसहितको टोलीको अनुगमन, प्राविधिक मूल्यांकन र प्रहरीको मुचुल्काका आधारमा क्षतिको अनुमान गरिएको हो ।







प्रतिक्रिया