Banner news

यो सरकारलाई देश छाडेर हामी विदेश भाग्दैनौं : ओली

यो सरकारलाई देश छाडेर हामी विदेश भाग्दैनौं : ओली


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारलाई देश छाडेर आफूहरु नभाग्ने स्पष्ट पारेका छन् । शीर्ष नेताको पासपोर्ट रद्द गर्ने चर्चा चलिरहेको बेला हा–हुँबाट बनेको सरकारलाई छाडेर आफूहरु विदेश नभाग्ने स्पष्ट पारेका हुन् ।

उनले आफूहरुले पुनः देश निर्माणमा लागि पर्ने बताएका छन् । राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने अहिलेको सरकार जनअभिमतबाट नबनेको बताए ।

‘अहिलेको सरकार जनअभिमतबाट बनेको होइन । तोडफोड र आगजनीबाट सरकार बनेको हो ।’ उनले भने, ‘मैले भनेका सबै कुराहरु यो सरकारले जनतामाझ ल्याओस् । कर्मचारी, प्रहरीलाई दिएको निर्देशन रेकर्डेट छन् बाहिर ल्याओस् । म सरकारमा हुँदा गरेका काम बाहिर ल्याओस् ।’

उनले भ्रष्टाचार गरे भनेर आरोप लगाउनुभन्दा कहाँ भयो त्यो सार्वजनिक गर्न आग्रह गरे । उनले आन्दोलनका नाममा व्यक्ति र उद्योगीको घरमा तोडफोड र आगजनि गर्नु दूर्भाग्य भएको टिप्पणी गरे । उनले भने,‘हरेक घरमा जेन्जी हुनुहुन्छ तर केहि जेनजीलाई गलत प्रयोग गरियो ।’

अध्यक्ष ओलीले जेन जीहरुलाई खरानीमा उभिएर देश बनाउन नसकिने बताएका छन् । देश समृद्ध बनाउन शान्ति र एकताको खाँचो पर्ने उनको धारणा थियो । देशलाई आतंकबाट मुक्त गर्नुपर्ने भन्दै अध्यक्ष ओलीले शान्ति सुरक्षा कायम गर्न सूझाव दिएका छन् । उधोग व्यवसायहरुलाई खोजी खोजी आगो लगाउने, तोडफोड आगजनी र काटमार राजनीति नभएको ओलीले स्पष्ट पारेका छन् ।

जेनजीको माग जायज थियो, त्यस्तै काम गर्न आफूले नेतृत्व गरिरहेको भन्दै उनले आन्दोलनका दिन आफ्नो हातमा केही नभएको थाहा पाएर नै राजीनामा दिएको जानकारी गराएका छन् । सम्बोधनका क्रममा ओलीले लुटिएका हतियार फिर्ता गर्न र कारागारबाट भागेका कैदीवन्दीहरुलाई फर्किन आव्हान समेत गरेका छन् ।

शेयर गर्नुहोस :

216
Shares