दमक । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा दमकमा भएको आगजनी तथा तोडफोडबाट प्रभावित सरकारी र निजी संरचनाको अनुगमन गर्नुभएको छ ।
उहाँले जलेको दमक नगरपालिका भवन र इलाका प्रहरी कार्यालयको अवलोकन गर्दै क्षतिको विवरण लिनुभएको छ । उहाँले विवरण लिँदै पुनर्निर्माणमा प्रदेश सरकार सहयोगी बन्ने प्रतिवद्धता जनाउनुभएको छ । नगर प्रमुख राम थापाले नगरपालिकाको क्षतिको विवरण प्रस्तुत गर्नुभएको हो ।

इलाका प्रहरी कार्यालयमा रहेका सवारीसाधनसहित संरचना नष्ट भएको डिएसपी रामप्रसाद तिम्सिनाले जानकारी दिनुभयो । पुनर्निर्माणका लागि उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईंले स्थानीय दाताबाट रकम संकलन भइरहेको र दशैंपछि काम सम्पन्न गरिने जानकारी दिनुभयो।
मुख्यमन्त्री कार्कीले आगजनीबाट जलेका एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनावका लागि भाडामा लिएको राम गौतमको घर, नगर प्रमुख थापाको घर, पूर्व नगर प्रमुख रोमनाथ ओली बस्दै आएको घर, एमाले केन्द्रीय सदस्य गोविन्द थापा र उनका दाजु बुद्धिमान थापाको घर तथा माओवादी नेता गगन पुरीको क्षतिग्रस्त घरको पनि निरीक्षण गर्नुभयो ।
प्रदेश सांसद होमबहादुर थापाका अनुसार आगजनीले व्यापक निजी तथा सरकारी संरचनामा क्षति पु¥याएको छ । यसको पुनःस्थापनामा प्रदेश सरकार र समाज दुबै जुट्नुपर्ने उहाँको धारणा थियो ।







प्रतिक्रिया