दमक

लाइफ लाइन अस्पताल दमकमा डायलाइसिस सेवा विस्तार

लाइफ लाइन अस्पताल दमकमा डायलाइसिस सेवा विस्तार


दमक –  किड्नीसम्बन्धी रोगीको चाप बढ्दो क्रममा रहेको बेला झापाको दमकस्थित लाइफ लाइन अस्पतालले डायलाइसिस सेवा विस्तार गरेको छ। अस्पतालले थप चार वटा मेसिन सञ्चालनमा ल्याएपछि अहिले डायलाइसिस मेसिनको संख्या १० पुगेको छ।

सेवा विस्तार कार्यक्रम दमक नगरपालिकाका प्रमुख राम थापाले डायलाइसिस कक्षको रिबन काटेर उद्घाटन गरेका थिए। यसअघि रोटरी क्लब अफ दमकको सहयोगमा अस्पतालमा ६ वटा मेसिन सञ्चालनमा थिए।

कार्यक्रममा प्रमुख थापाले उपचारका क्रममा चिकित्सक र स्वास्थ्यकर्मीको व्यवहारले पनि रोगीको उपचारमा प्रभाव पार्ने भन्दै उच्च मनोबलका साथ सेवा प्रवाह गर्न आग्रह गरे। एक वर्षदेखि डायलाइसिस गराइरहेका बिरामीका कुरुवा बालकृष्ण बस्नेतले पनि अस्पतालको सेवा प्रशंसायोग्य भएको बताए।

लाइफ लाइन अस्पतालको सञ्चालक समिति सदस्य डा. सूर्यनारायण शाहका अनुसार हाल नेपालभर करीब २० लाख मृगौला पीडित रहेका छन्, जसमध्ये कोशी प्रदेशमा मात्रै करिब ३ लाख छन्।

डाक्टर शाहले प्रेसर, सुगरको समयमा उपचार नहुनु, खानपानमा लापरबाही र पर्याप्त पानी नपिउनु मृगौला रोग बढ्नुका प्रमुख कारण भएको बताए। कार्यक्रममा दमक अस्पतालका निर्मित्त मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्ण शाह र आम्दा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शिखर कटेलले स्वयम् व्यक्ति सचेत नभएसम्म जोखिम कम नहुनेमा जोड दिए।

कार्यक्रम लाइफ लाइन अस्पतालका सञ्चालक समिति अध्यक्ष वालचन्द्र सुब्बाको अध्यक्षतामा सम्पन्न भएको थियो। रोटरी क्लब अफ दमकका अध्यक्ष केशव अग्रवाल, सञ्चालक समिति सदस्य कृष्ण थापा लगायतका वक्ताहरूले “बिरामी हाम्रा भगवान हुन्” भन्ने भावनाका साथ सेवा प्रवाह गर्नुपर्ने धारणा राखे। अस्पतालले वडादशैंको अवसरमा शुभकामना आदानप्रदानसमेत गरेको थियो।

शेयर गर्नुहोस :

972
Shares