Banner news

कसरी सुरु भयो दशैंको टिका र जमारा ?

कसरी सुरु भयो दशैंको टिका र जमारा ?


बिर्तामोड । नेपाली समाजमा टिका र जमरा दसैँको अभिन्न अङ्गका रूपमा रहेको पाइन्छ। यो चलन कसरी सुरु भयो र यसको खास महत्त्व के छ ?  आउनुहोस् एकैछिन चर्चा गरौँ ।

टीकाको प्रचलन

दुर्गा पूजामा टीका तथा अक्षताको कुरा आउँछ । पहिले टीकाको रुपमा अक्षताभन्दा पनि उवा र जौं जस्ता अनाजको पिठो प्रयोग हुन्थ्यो । पछि नेवारा भन्ने एक प्रकारको घैया धानजस्तो प्राकृतिक रुपमा उभिएको धानलाई मानिसले प्रयोग गर्न सिक्यो । त्यसबाट अक्षता बनाउन थाल्यो ।

खासमा पहिला क्षत नभएको अन्न वा चामललाई अक्षता भनिएको थियो । त्यसैले अक्षता बनाउँदा चन्दन घोट्ने काठले घोटेर सग्लो चामल चोखो रुपमा निकालिन्थ्यो । पछिसिलौटाको ढुंगाले घोटेर बनाउने चलन पनि आयो । अहिले धेरैजसोले मिलमा कुटेको चामलबाटै अक्षता बनाउँछन् । जुन क्षत नभएको वा नटुक्रिएको भनेर ख्याल गरेको पाइन्न ।

पहिले–पहिले टीकाको रुपमा सेतो अक्षता प्रयोग गरिएको पाइन्छ । प्रकृतिमा सेतो, रातो, हरियो, नीलो रङको यथार्थ रहे पनि दशैंमा सेतो र रातो रङ्ग्याइएको अक्षता बढी प्रयोग गरिन्छ । स्वच्छताको प्रतीकको रुपमा सेतो रङ प्राचीन प्रयोग हो । अझै पनि थारुहरुले, मगरहरुले, राई र लिम्बूहरुले सेतो अक्षता लाउँछन् । तर, पछि उनीहरुले मातृत्वपूजक संस्कृतिसँग बलिप्रथालाई शक्ति पूजाका रुपमा जोड्दै जाँदा बलि दिइएको जनावरको रगतबाट टीका मुछ्नेहरु एकथरी पाइए । पशु बलि नचढाउनेहरुले अबीर र दही प्रयोग गरेर अक्षता मुछ्ने गरेको पाइयो ।

अक्षताको प्रयोग प्रसादको रुपमा गरिन्छ । तर, यस्ता पूजा, पर्व, अनुष्ठानहरुमा सबैले अक्षता मात्र प्रयोग गर्दैनन् । कसैकसैले विभूति त कसैले तरेखु प्रयोग गर्छन् । शैवमार्गीहरुले विभूति र तरेखु लगाउँछन् भने अन्य कतिपयले सिन्दूर, सीम्रिक पनि प्रयोग गरेको पाइन्छ ।

टीकाको सन्दर्भ हेर्दा अफ्रिकीहरुको प्रभाव हामी कहाँ आएको पाइन्छ । पुसु भनेर अफ्रिकीहरुले रगतमा मुछेर टीका लगाउँछन् । अरु कतिपय उत्तरी र दक्षिणी प्रभावको मिसमास पनि हाम्रो संस्कृतिमा पाइन्छ । विश्व प्रचलनका अन्तरप्रभावी संस्कृतिको रुपमा नै मानव संस्कृति रहेको छ ।

जमराको प्रचलन

अहिले नौ थरी अन्न मिसाएर कतिपयले जमरा राखेको पाइन्छ । सुरुवातमा मूलत : उवा भन्ने एक किसिमको अन्नबाट जमरा उमारिन्थ्यो । पछि उवासँगै जौं भयो, त्यसपछि गहुँ पनि मिसाए, पछि मकै पनि मिसाए । मकै त हाम्रो सभ्यतामा धेरै पछि मात्र आएको हो । मकैको प्रचलन पश्चिमी माया सभ्यताबाट विकसित भएको हो ।

शिकारी युगपछि कृषि युगको प्रारम्भ हुँदा अन्तरकुन्तर र कुनाकानीमा उम्रिएका अन्नका पहेंला मुजुराहरुलाई टीकासँगै लगाउने चलन खासगरी राई, लिम्बू, मगर, गुरुङ लगायत अहिलेका जनजाति भनिने मातृत्वपूजक संस्कारबाट प्रारम्भ भएको थियो ।

जमराको सन्दर्भमा एउटा लिम्बू मिथक छ । शिकारको क्रममा ढुकुर मारिएको थियो, ढुकुरले विभिन्न ठाउँमा खाएका अन्न भरिएको गाँड फाल्दा त्यो पछि उम्रियो । त्यो देखेर यो त सुन्दर चिज रहेछ, यति कलकलाउँदो पहेँलो विरुवालाई फूलको रुपमा लगायो भने राम्रो होला भनेर कानमा सिउरिने, माला बनाउने, टोपीमा लगाउने गर्न थालियो । त्यसलाई सगुन मानियो । त्यो सगुन लगाएर शिकार गर्न जाँदा फलिफाप हुने विश्वास गरियो ।

त्यो सगुनमा पाइएको अन्नहरु रोप्दा फलेर त्यसबाट खान र प्रयोग गर्न पाइने, उत्पादन गर्न सकिने भयो । खासगरी कृषि युगको थालनीको सन्दर्भ थियो त्यो । कृषिको सन्दर्भसँगअरु पर्व पनि जोडिन्छन्, जस्तै कृषिको कथासँग जोडेर साकेला सिली नाचिन्छ । यस्तै न्वागी खाने चलन कृषि उपजको पहिलो प्रयोगसँग जोडिन्छ ।

आयुर्वेदमा जमराको सर्बत खाएमा कतिपय विकार, अर्बुदजन्य रोगहरुमा समेत फाइदा पुग्छ भन्ने भनाइ छ । कसैकसैले दशैंको जमरालाई सुकाएर धूलो बनाएर औषधिको रुपमा प्रयोग गरेको पनि पाइन्छ । यसरी मानव स्वास्थ्यलाई फाइदा हुने र तागत मिल्ने अंकुरित गेडागुडी, तुलसी, पाते चिया जस्ता वनस्पति पनि हुन्छन् । तर, खासमा जमराको प्रयोगऔषधिजन्य रुपमा नभई फूलको रुपमा नै गरिन्छ ।

शेयर गर्नुहोस :

54
Shares