मुख्य समाचार

भोटेकोशी र त्रिशूली नदी किनारमा फेरि बस्ती बसाल्नु हुँदैन : मुख्यमन्त्री किरण थापा

भोटेकोशी र त्रिशूली नदी किनारमा फेरि बस्ती बसाल्नु हुँदैन : मुख्यमन्त्री किरण थापा


काठमाण्डौ –  बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले भोटेकोशी र त्रिशूली नदीको दायाँ–बायाँ क्षेत्रमा अब फेरि बस्ती बसाल्न नहुने बताउनुभएको छ ।

नेपाल प्रेस सोसाइटीले भक्तपुरको सूर्यविनायकमा आज गरेको कार्यक्रममा मुख्यमन्त्री थापाले गएको भदौ १० मा आएको भोटेकोशी बाढीले ठूलो जनधनको क्षति गरेको र अब पुनर्स्थापनाका काम गर्दा ध्यान पुर्‍याउनुपर्नेमा जोड दिनुभयो ।

भोटेकोशी र त्रिशूली नदी किनारका क्षेत्र सधैँ जोखिमपूर्ण रहेका कारण दीर्घकालीन सोंचका साथ अघि बढ्नुपर्ने बताउनुभयो । बाढी प्रभावित क्षेत्रका नागरिकका लागि सम्बन्धित पालिकाले जग्गा उपलब्ध गराउने र प्रदेश सरकारले बस्ती निर्माण गर्ने सहमति भएको उहाँको भनाइ छ ।

नुवाकोटका लागि विदुर नगरपालिकामा जग्गा पाइसकेको र रसुवाका लागि जग्गा हेरिरहेको पनि मुख्यमन्त्री थापाले जानकारी दिनुभयो ।

उहाँले बाढी तथा विपद् प्रभावित नागरिकका लागि स्थायी आवास निर्माणलाई पहिलो प्राथमिकतामा राखेको र दीर्घकालीन रूपमा सुरक्षित ठाउँमा प्रभावितको पुनर्स्थापना गर्न प्रदेश सरकार केन्द्रित रहेको बताउनुभएको छ ।

शेयर गर्नुहोस :

0
Shares