Banner news

जेनजी आन्दोलनको एक वर्ष : सत्ता मात्रै बदलियो

जेनजी आन्दोलनको एक वर्ष : सत्ता मात्रै बदलियो


प्रदीप परियार

आज भदौं २३ गते अर्थात जेनजी आन्दोलन भएको दिन । आजकै दिन गत वर्ष जेनजी आन्दोलन भएको थियो । जेनजी पुस्ताको आह्वानमा भएको आन्दोलन आज एक वर्ष भएको छ । सुशासन र भ्रष्टाचार अन्त्यको माग गर्दै परिवर्तनको निम्ति जेनजी आन्दोलन गरिएको थियो । तत्कालिन सरकारको सामाजिक सञ्जाल नियमन गर्ने निर्णयका विरुद्ध समेत युवाहरुले आन्दोलन गरेका थिए । सुशासन र भ्रष्टाचारको अन्त्यसँगै सामाजिक सञ्जाल खुला हुनुपर्ने मागसहित जेनजीहरुले आन्दोलन गरे ।

नेपालको विभिन्न घटनाक्रमहरुमध्येको बिर्सन नसकिने दिन हो, आज । सुशासन र भ्रष्टाचार अन्त्यको माग सबै नेपालीको साझा माग थियो र हो । सामाजिक सञ्जाल फेसबुक मार्फत नेपाली समाजमा बढ्दो अराजकताविरुद्ध तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले नियमनको प्रयास गरेको थियो । फेसबुकलाई नियमन गर्नुपर्ने सरकारको प्रयास जायज थियो । सरकारले फेसबुक नियमनको उद्देश्य बुझाउन सकेन । जसका कारण आम युवाहरुले फेसबुक बन्द गर्न खोजेको बुझाई बनाए । यथार्थमा, नेपालमा सञ्चालन हुने फेसबुक सरकारको नियम कानुन बमोजिम सञ्चालन हुनुपर्ने सरकारको निर्णय ठिक थियो ।

जेनजीले ठिक उद्देश्यका साथ आन्दोलन आव्हान गरेका थिए । आन्दोलनको उद्देश्य ठिक थियो । काठमाडौं जिल्ला प्रशासनबाट माइतिघरमा प्रदर्शन गर्ने अनुमति लिए । त्यो आन्दोलनमा विस्तारै भीड बढ्यो । देशभरका जेनजीले सुशासन र भ्रष्टाचार अन्त्यको माग गर्दै जिल्ला जिल्लामा प्रदर्शन गरे । भदौं २३ गते दिउँसोतिर भीडलाई संसदतर्फ धकेलियो । वास्तविक जेनजीहरुले आन्दोलनमा घुसपैठ भएको थाहा पाए । घुसपैठ भएको थाहा पाएपछि जेनजीले आन्दोलन फिर्ता लिएको घोषणा गरेर फर्किए । तर, आन्दोलनमा स्वार्थ समूहहरुलाई आफ्नो स्वार्थ पुरा गर्नु थियो । केहिबेरमा आन्दोलन नियन्त्रण बाहिर गयो । संसदसहित अन्य संरचनाहरुमा तोडफोड र आगजनीको प्रयास भयो । सुरक्षाकर्मीले भीडलाई थेग्न नसक्ने परिस्थितिमा पुग्यो । सुरक्षाका लागि सुरक्षाकर्मीहरुले आफ्नो कर्तव्यपालनाका क्रममा जेनजीमाथि गोली चलाए । गोली लागेर जेनजी युवाहरु सडकमा ढले । त्यसपछि आन्दोलन थप उग्र बन्यो ।

त्यतिबेलासम्म आन्दोलन हाइजेक भइसकेको थियो । स्वार्थ समूहहरुले आन्दोलन हाइजेक गरेर आन्दोलनलाई हिंसा तर्फ मोडिदिए । सरकारले आन्दोलनको उग्रतालाई नियन्त्रणमा लिन सकेन । आन्दोलनको पहिलो र दोस्रो दिनमा ५७ जनाको मृत्यु भयो । त्यसपछि पनि भएको मृत्यु संख्यालाई जोड्दा ७७ जनाले जीवन गुमाए । २४ सय जनाभन्दा धेरै घाइते भए । भौतिक रुपमा ८४ अर्वको क्षति भयो । २३ गते साँझसम्म १९ जना नवयुवाहरु गोली लागेर सदाहत प्राप्त गरेका थिए ।

जेनजी आन्दोलनको तयारी त्यस्तो थिएन । शान्तिपूर्ण प्रदर्शन मार्फत सरकारलाई खवरदारी गर्ने उद्देश्य भएको स्पष्ट हुन्छ । तर, स्वार्थ समूहको योजना देशलाई खरानी बनाएर शासन सत्ता कब्जा गर्नु रहेछ । भदौं २३ गते रातीबाट देश अशान्त भयो । २४ गते बिहानैबाट देशभर आगजनी र तोडफोड भयो । साँझसम्म देश खरानी भयो । नेताका घर जलाउनेदेखि व्यवसायिक प्रतिष्ठानहरुमा आगजनी, नेताहरुमाथि कुटपिट भयो । त्यो दिन आन्दोलन कब्जा गर्नेहरु बाहेक सबैलाई ज्यान बचाउनु मात्र थियो । बाँकी केहि संभावना थिएन । देशमा अहिलेसम्म भएका आन्दोलनहरु त्यति हिंसात्मक आन्दोलन सायदै भएको थिएन र नहोस् पनि ।

जेनजी आन्दोलनअघि सत्तारुढ दल, पुराना भनिएका राजनीतिक दलहरुविरुद्ध नागरिकको आक्रोस थियो । नागरिकमाथि गरिएको प्रतिवद्धता शतप्रतिशत पुरा हुन सकेको थिएन । विभिन्न संकटहरुबाट मुलुक विस्तारै अघि बढ्दै थियो । तर, एकथरी नागरिकहरु मुलुकमा जादुमयी परिवर्तनको पक्षमा थिए । पुराना दलहरुविरुद्ध बढ्दो जनआक्रोस् जेनजी आन्दोलनमा पोखियो । सबै स्वार्थ समूहरुले जेनजी आन्दोलनलाई बदलाको अवसरमा उपयोग गरे । सामान्य वादविवाद भएका घटनाहरुमा समेत जेनजी आन्दोलनलाई बदलाको मौका बनाइयो । सरसर्ती हेर्दा, जेनजी आन्दोलन हाइजेक गरेर स्वार्थ समूहरुले बदला लिए । किनभने, सुशासन र भ्रष्टाचारको मुद्दा उनीहरुको थिएन ।

जेनजी आन्दोलनले मुलुक खरानीमा परिणत भएपछि नयाँ कोर्ष सुरु भयो । लामो समय शासन सत्ता सम्हालेका नेता र त्यसमा आवद्ध कार्यकर्ताहरुलाई मुख्य टार्गेट बनाइयो । त्रासमय वातावरण तयार गरेर सुशिला कार्कीको नेतृत्वमा सरकार बनाउने काम भयो । सरकार बनेका बेलाको मञ्चन नेपाली जनतालाई पक्कै स्मरण होला ।
जेनजी आन्दोलनको मुख्य मुद्दा सुशासन र भ्रष्टाचार अन्त्य भए पनि स्वार्थ समूहहरुलाई तत्कालिन सरकार ढाल्नु थियो । जननिर्वाचित संसद् भंग गर्नु थियो । त्यो दुवै काम सकेर मुलुकलाई निर्वाचन तर्फ धकेलियो । निर्वाचनमा पुरानाहरुलाई निर्वाचित हुन नदिन सबै शक्तिहरुको भरपुर प्रयोग गरियो ।

२०८२ फागुन २१ मा निर्वाचन भयो । निर्वाचनले स्वार्थ समूहहरुको योजनालाई सफल बनायो । जेनजी आन्दोलनपछि सुरु भएको त्रास निर्वाचनपछि हल भएर जाने अपेक्षा थियो । तर, नयाँ सरकार बनेपछि मुलुकमा थप त्रास बढेर गयो । त्रासैत्रासका बिच मुलुकले एक वर्ष गुजारेको छ । जेनजीको मुल मुद्दा ओझेलमा छ । निरंकुश ढंगबाट सरकार अघि बढिरहेको यथार्थ दुनियाँलाई थाहा छ । यसरी सुशासन कायम हुन सक्दैन । भ्रष्टाचार अन्त्यको मुद्दा मुख्य प्राथमिकतामा अझै पर्न सकेको छैन । समग्रमा जेनजीको मुद्धा सम्बोधन गर्ने चरण सुरुवात नै भएको छैन । यसरी नै सरकार त्रास सिर्जना गरेर अघि बढिरह्यो भने मुद्दा सधैं ओझेलमा परेर जाने छ ।

जेनजी आन्दोलनको एक वर्षलाई फेर्कर हेर्दा सत्ता बदल्ने काम बाहेक केही हुन सकेको छैन । शासन सत्तामा बस्नेहरुको अनुहार मात्र बदलिएको छ । नागरिकको जीवनमा कुनै उत्साह छैन । व्यवसायीहरु त्रासमा छन् । उनीहरुलाई व्यापारको वातावरण छैन । समग्र मिडिया क्षेत्रमाथि सरकारले प्रहार गरेको छ । मिडिया क्षेत्रमाथि तर्साउने काम बाहेक सरकारले केही गर्न सकेन । स्वदेशमा बसेर जीवन चलाउछु भन्नेहरु सोच्न बाध्य भएका छन् ।

सत्ता मात्रै बदल्नु थियो भने देश किन खरानी बनाइयो ? सत्ता बदल्न निर्वाचन काफी थियो । निर्वाचन मार्फत जनताको मन जितेर सत्ता बदल्न सकिन्थ्यो । देशलाई खरानी बनाएर वर्षौपछि धकेल्ने जे काम भयो, भावी पुस्ताले पक्कै क्षमा दिने छैनन् । आउने पुस्ताले देश खरानी बनाउनेहरुमाथि पक्कै समीक्षा गर्नेछन्, गर्नुपर्छ । देश जादुमयी ढंगबाट बन्दैन । जवरजस्त पनि बन्दैन । सात दशक लामो योगदानबाट मात्रै मुलुक यहाँसम्म आएको हो । यो जेनजीहरुलाई कमै थाहा छ । पञ्चायतको शासन ढालेर जनताको शासन ल्याउनेहरुलाई दुव्र्यवहार गर्नेहरुले इतिहासलाई फर्केर पढ्नैपर्छ ।

अहिले रास्वपाको एकलौटी सरकार छ । सरकारलाई काम गर्न कुनै बाधा अवरोध छैन । सरकारले चाहेको काम गर्न सक्छ । ‘नाच्न जान्दैन, आँगन टेढो’ भनेजस्तै सरकार विपक्षीहरुलाई आरोप लगाइरहेको छ । रास्वपा समर्थकहरु विपक्षीलाई गाली गर्न व्यस्त छन् । रास्वपाका सांसदहरु कामभन्दा पनि गालीगलौच र विपक्षीविरुद्ध खरो उत्रिन तल्लिन छन् । उनीहरुको सामाजिक सञ्जाल, कार्यकर्ताहरुको तल्लो स्तरको प्रतिक्रियाले रास्वपा नेतृत्वदायी ठाउँमा बसेर पनि जिम्मेवार रुपमा प्रस्तुत हुन नसकेको स्पष्ट छ । रास्वपाको सरकार शक्तिशाली सरकार हो । रास्वपाका नेता कार्यकर्तालाई फेसबुकमा स्टन्ट र तल्लो स्तरमा झरेर गालीगलौचमा उत्रिनु आफ्नै लागि घातक छ । यसैले बेलैमा रास्वपा, रास्वपाको सरकार र यसका कार्यकर्ताहरुको आँखा नखोल्ने हो भने मुलुकमा अर्को दुर्घटना नहोला भन्न सकिन्न । उनीहरु सच्चिनुपर्छ । संसदको मर्यादामा रहनुपर्छ । संविधानको परिपालना गर्नैपर्छ ।

रास्वपाले राम्रो काम गर्ने हो भने देश बन्छ नै । राम्रो काम गरिरह्यो भने जनताले फेरि पनि मत दिने नै छन् । आउने निर्वाचनहरुमा ठुलो मेहनत पनि गर्न पदैन । तर, रास्वपाको यस्तै मति हो भने जनता कसैको पेवा होइनन् भन्ने बुझ्नुपर्छ । एमाले र माओवादीको तत्कालिन नेकपा सरकार हुँदा मुलुकमा अर्को पार्टीले सरकार बनाउलान् भन्ने त्यो पार्टीका नेता र कार्यकर्ताले सोचेका थिएनन् । तर, सोचेजस्तो राजनीतिक चक्र घुमेन । राजनीतिक चक्र हिजो पनि घुम्यो र फेरि पनि घुमिरहन्छ । यो जनमत पाँच वर्षका लागि मात्रै हो । पाँच वर्षमा रास्वपाले फेरि अर्को परीक्षामा सहभागी हुनुपर्छ । त्यसैले अर्को परीक्षाका लागि यसैगरी तयार हुने हो भने परिस्थिति बदलिने छ । जटिल हुनेछ ।

रास्वपाका लागि सबैभन्दा चुनौति भनेको आफ्नै कार्यकर्ता हुन् । जसरी एमाले, कांग्रेसमा कार्यकर्ताहरु अन्धभक्त थिए, झोले भए । त्यसैगरी अहिले रास्वपाका कार्यकर्ताहरु अन्धभक्त भएका छन्, झोले नै भएका छन् । सरकारलाई खवरदारीको बदलामा पक्षपोषण मात्रै छ । पक्षपोषण मात्रै भइरह्यो भने रास्वपा छिट्टै दुर्घटनामा पर्नेछ । एकदुई उदाहरण हेरौं, सुकुम्बासीमाथिको ज्यादतीविरुद्ध रास्वपाका कार्यकर्ताहरु बोल्न सकेनन् । नागरिकले पाइरहेको सुविधा स्वास्थ्य बीमाको सुविधा कटौती भयो, कोही बोलेनन् । यसरी कार्यकर्ता चुपचाप बसिरहे सरकार निरंकुश मात्र होइन, नसोचेको खाडलमा पर्नेछ । त्यो बेला बोल्न ढिलो भइसकेको हुनेछ । खवरदारी गर्ने समय वितिसकेको हुनेछ ।

युवा हुनुको नाताले यो सरकारसँग आशा गर्ने समय अलि बाँकी छ । पाँच वर्षका लागि जनताले जिम्मेवारी दिएका छन् । तर, एक वर्षको छनक राम्रो छैन । देश चलाउने सवालमा सिक्दै गर्छु भन्न छुट छैन । सिकेकाहरुको अनुभव अनुसरण गरेर कामलाई अछि बढाउनुपर्छ । प्रतिशोध र बदलाको पहिलो वर्ष अर्को वर्ष दोहोरिन दिनु हुदैन । सरकारले विपक्षीहरुमाथि यसैगरी बदला र प्रतिशोध साँध्ने काम गरिरह्यो भने समय प्रतिकुल अवश्य हुनेछ ।

पुरानाले ३५ वर्षमा जेजति काम गरे, त्यति काम अब गर्नु पर्दैन । पहिले जस्तो देश द्वन्द्वको सामना गरिरहेको छैन । संविधान जारी गर्नुपर्ने छैन । भुकम्प, कोभिड र नाकाबन्दी सामना गर्नुपर्दैन । राष्ट्रिय गौरवका आयोजनाहरुको लागि टाउको दुखाउनु पर्ने छैन । बाटो, पुल, शिक्षा, स्वास्थ्यको क्षेत्रमा नयाँ रेखा कोर्नु पर्ने छैन । अब, देशलाई सुशासन र भ्रष्टाचार अन्त्यका लागि केही काम गर्नु छ । त्यसका लागि ३५ वर्ष पक्कै लाग्दैन । ३५ वर्षको एक छेउ समयमा धेरै काम गर्न सकिन्छ । सरकार त्यसका लागि तयार हुनुपर्छ । देशका मुल संरचनाहरुलाई लयमा ल्याउनुपर्छ । हस्तक्षेपबाट सबै राज्यका निकायलाई मुक्त गर्नुपर्छ । संसदलाई जिम्मेवार बनाउनुपर्छ । नागरिकका आवाज सुनिनुपर्छ । नागरिकका आवाजलाई दवाउने प्रयास गरिनु हुदैन ।

जेनजी आन्दोलनको एक वर्ष सन्तोषजनक छैन । अझै, यो सरकारका लागि समय छ । जनताले असाध्यै धेरै आशा गरेका छन् । त्यो आशालाई निराशामा बदल्न हुदैन । भय र त्रासबाट आम नागरिकलाई मुक्त गरेर सरकार सुशासन र भ्रष्टाचार अन्त्यका लागि बलियो ढंगबाट उभिन सकोस् । त्यो मुद्दा सफल नभएसम्म जेनजी आन्दोलनको औचित्य अपुरो नै रहनेछ । जेनजी शहिदहरुको सपना अधुरै रहने छ । वास्तविक जेनजी शहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली ।

शेयर गर्नुहोस :

0
Shares