Banner news

शिवसताक्षीमा बाढीले २२० घरमा क्षति

शिवसताक्षीमा बाढीले २२० घरमा क्षति


शिवसताक्षी । अविरल वर्षासँगै आएको कनकाई माईको बाढीले झापाको शिवसताक्षी नगरपालिकामा २२० घरमा क्षति पुर्याएको छ । गएको असोज १८ गते राति आएको कनकाई माइमा आएको बाढीले नगरका विभिन्न वडाका बस्तीहरू डुबानमा परेका हुन् ।

नगरपालिकाको विपतव्यवस्थापन शाखाका कार्यक्रम अधिकृत महेश लामिछानेले वडा नं. ४ विश्वडुब्बामा ४ घर, वडा न. ५ भेलामुनीमा ४५ घर, वडा न. ६ शिवगञ्जमा ३१ घर र वडा नं. ७ लालपानीमा १४३ घर बाढील डुबानमा परेको बताउनुभयो ।

नगरपालिका क्षेत्र भित्र डुबान, कटानबाट अनुमानित १ करोड २० लाख माथिको क्षति भएको नगरप्रमुख मेगाहाङ्ग थोप्राले जानकारी दिनुभयो । वडा नं. १० दोमुखामा मात्रै करिब ३१ लाख रुपैयाँभन्दा बढीको क्षति भएको नगरप्रमुख मेगाहाङ थोप्राले जानकारी दिनुभयो ।

उहाँका अनुसार दोमुखाको पिकनिक स्पोर्टमा नगरले निर्माण गरेको रेलिङ्ग पूर्ण रूपमा बगाएको छ भने कनकाई माईले चिल्ड्रेन पार्क, नवनिर्मित मौलिक घर, स्वीमिङ्ग पुलको क्षेत्रमा लेदोले पुरिएको छ, त्यस क्षेत्रमा नदिले कटानसमेत गरेको छ । त्यस्तै कनकाई मुक्तिघाटमा अनुमानित १५ लाख ६४ हजारको क्षति भएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार अझै केही स्थानबाट क्षति विवरण आउन बाँकी रहेको छ ।

वडा न. ५ भेलामुनीमा नदी कटान बढ्दो भएकाले तत्काल ढुंगाजाली जडान गरी रोकथाम कार्य गर्नुपर्ने अवस्था रहेको विपतव्यवस्थापन शाखाले जनाएको छ । धरमपुर खानेपानी आयोजनामा पनि ७ लाख ६८ हजार रुपैयाँको क्षति भएको नगरपालिकाले जनाएको छ ।

नगरप्रमुख थोप्राले भन्नुभयो, ‘अहिले जनप्रतिनिधि र कर्मचारीहरू क्षति विवरण संकलन र राहत वितरणमा जुटेका छन् । प्रभावित नागरिकका लागि गाँस, बासको व्यवस्था छिटो गर्न प्रयास भइरहेको छ ।’ नगर उपप्रमुख नरमाया कार्की अनुसार, डुबान क्षेत्रका बालबालिकामा चिसोका कारण स्वास्थ्य समस्या देखिन थालेकाले नगरको स्वास्थ्य टोली परिचालन गरी स्वास्थ्य परीक्षण र औषधि वितरण कार्य सुरु गरिएको छ ।

यसैबीच, नेपाल रेडक्रस सोसाइटी उपशाखा शिवसताक्षीले आज वडा न. ७ लालपानीका १०२ बाढीपीडित परिवारलाई २ लाख ४ हजार रुपैयाँ बराबरको राहत वितरण गरेको छ। राहत अन्तर्गत प्रत्येक परिवारलाई २० केजी चामल, २ केजी दाल, २ लिटर खानेतेल र चाउचाउ वितरण गरिएको सभापति गोविन्द काफ्लेले जानकारी दिनुभयो ।

त्यस्तै रेडक्रसले शिवसताक्षी ६ शिवगञ्जका १६ परिवार समेत राहत वितरण गरेको छ । राहतका लागि शिवसताक्षी उद्योग वाणिज्य संघका अध्यक्ष तथा काफ्ले खाद्य भण्डारका सञ्चालक यामनाथ काफ्लेले ५० हजार, ध्रवतारा आवासीय विद्यालयले ६ हजार, काफ्ले समाज शिवसताक्षी नगर समितिले ४ हजार रुपैयाँ लगायत अन्य व्यक्तिहरुले सहयोग गरेका छन् ।

त्यस्तै, शिवसताक्षी नगरपालिकाले लालपानीका बाढीपीडितका लागि १७० थान म्याट, झुल र महिलाका लागि साडी सेट, वितरण गरेको छ भने, वडा नं. ४, ५ र ६ का पूर्ण रूपमा डुबानमा परेका १ सय परिवारलाई म्याट, तन्ना र झुल वितरण गरेको जनाएको छ ।

शेयर गर्नुहोस :

81
Shares