शनिश्चरे । अर्जुनधारा नगरपालिका वडा नम्बर – १ , ४ , ५ र ७ का स्थानीयहरुलाई खानेपानीको समस्या भएको छ ।
वडा नम्बर –१ सिस्ने खुदुनाबारी – अर्जुनधारा खानेपानी तथा सरसफाई उपभोक्ता समितिले विरिङ खोलाबाट ग्राभिटी गरेर दुई वटा मिनी सन्फाल निर्माण गरी २६ सय घर–परिवारले खानेपानी उपभोग गर्दै आएकोले असोज १८ र १९ गतेको अविरल बर्षाका कारण बाढीले पूर्णरूपमा क्षति गरेपछि समस्या भएको हो ।

समितिका अध्यक्ष केदारनाथ पराजुलीले दिएको चार किल्ला र घटना सूचना विवरण अनुसार सोही वडा स्थित पूर्वमा विरिङ खोला,पश्चिममा तिलक बहादुर दर्जीको जग्गा ,उत्तरमा चन्द्र ढुंगानाको जग्गा र दक्षिणमा भोगेन्द्र तिम्सिनाको जग्गा यी चार किल्ला भित्र खानेपानीको लागि ग्राभिटी गरी पानी निकाल्न प्रयोग गरिएको दुई वटा मिनी सन्फालसहित ६६० मि.को २०० एम एम,६६० मि . को १६० एम एम ,६६० मि.को १४० एमएम , ६६० मि .को १२५ एमएम र २०० मि.को ७५ एमएम पाइपलाइनहरु बाढीले पूर्णरूपमा क्षति गरेको छ ।
शनिश्चरे प्रहरी चौकीका प्रहरी वरिष्ठ नायब निरीक्षक नुमराज के सीको नेतृत्वमा २० गते आएको सर्जमिन टोलीले वडा नम्बर – १ का वडा अध्यक्ष उपेन्द्र बस्नेतको रोहबर र साक्षी गाउँघरका भद्रभलादमीहरुको साक्षीमा सर्जमिन मुचुल्का गरी क्षतिपूर्तिको लागि सम्बन्धित निकाय जलस्रोत मन्त्रालय मा पठाइएको अध्यक्ष पराजुलीले जानकारी दिए ।







प्रतिक्रिया