मुख्य समाचार

बाढी पीडितका लागि संकलित सहयोग रकम हस्तान्तरण

बाढी पीडितका लागि संकलित सहयोग रकम हस्तान्तरण


शिवसताक्षी । नेपाल शिक्षक महासंघ शिवसताक्षीले बाढी पीडितका लागि संकलित सहयोग रकम शिवसताक्षी नगरपालिकालाई हस्तान्तरण गरेको छ ।

शुक्रवार दुधेमा नेपाल शिक्षक महासंघ शिवसताक्षीको बैठकको क्रममा नेपाल शिक्षक महासंघ शिवसताक्षीका अध्यक्ष बेनुप्रसाद कार्कीले १ लाख २५ हजार रुपैयाँको चेक नगरप्रमुख मेगाहाङ थोप्रालाई हस्तान्तरण गरेका हुन् ।

गएको असोज १८ गते आएको अविरल वर्षाका कारण कनकाई माइको बाढीले नगरका विभिन्न क्षेत्रहरू डुबानमा परेपछि शिक्षक महासंघले सहयोग रकम संकलन गरेको थियो । महासंघका अध्यक्ष बेनुप्रसाद कार्कीका अनुसार बाढीले सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाका पाठ्यपुस्तक, शैक्षिक सामग्री र विद्यालय पोशाकसमेत क्षति पुगेकाले शिक्षकहरूले राहतका लागि सहयोग जुटाएका हुन् ।

रकम ग्रहण गर्दै नगरप्रमुख थोप्राले विशेष गरी शिवसताक्षी–७ लालपानीका बासिन्दाहरू सबैभन्दा बढी प्रभावित भएको बताउनुभयो । उहाँका अनुसार हाल नेपाल रेडक्रस, जिल्ला विपद् व्यवस्थापन समिति र अन्य संस्थाहरूले राहत वितरण गरिरहेका छन् । “खाद्य सामग्री वितरण भइरहेको छ, तर बाढीले घरभित्र लेदो पसेकाले भात पकाएर खानसमेत कठिन भएको अवस्था छ,” उहाँले भन्नुभयो ।

नगरप्रमुख थोप्राले विद्यार्थीहरूको शैक्षिक सामग्री र विद्यालय पोशाक पुनःव्यवस्थापनमा संकलित रकम प्रयोग गरिने जानकारी दिनुभयो । साथै, नगरपालिकाका कर्मचारीहरूले संकलन गरेको रकमबाट ग्यास सिलिन्डर र चुलो वितरण गर्ने तयारी भइरहेको पनि उहाँले बताउनुभयो ।

नगरपालिकाको विपद् व्यवस्थापन शाखाका कार्यक्रम अधिकृत महेश लामिछानेका अनुसार हालसम्म कर्मचारीहरूबाट १ लाख २८ हजार ५२५ रुपैयाँ संकलन भइसकेको छ भने अझै केही सहयोग संकलन हुन बाँकी छ ।
शिवसताक्षी नगरपालिकाका अनुसार हालसम्मको विवरणअनुसार वडा नं. ४, ५, ६ र ७ का गरी २२० घरमा बाढीले क्षति पु¥याएको छ । नगरपालिकाले बाढीबाट करिब १ करोड २० लाख रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरेको छ ।

शेयर गर्नुहोस :

108
Shares